काठमाडौं । रसुवा बाढीमा बगेका २८९ जनाको शव फेला परिसकेको छ । शव भेटिने क्रम पनि जारी नै छ । टाढाटाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ ।

चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता छ । तर भेटिएका शव संख्या सयौं नाघिसकेको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार यस्ता ठूला प्राकृतिक विपद्का बेला शव भेटिनासाथ हतारमा दाहसंस्कार गर्नु हुँदैन । विपद्का बेला शव व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन् ।

शवको विस्तृत विवरण संकलन, तस्वीर र अन्य पहिचानसम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

‘सबैभन्दा पहिले शवलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ डा. चौधरी भन्छन्, ‘शव कहाँ भेटियो ? कुन अवस्थामा भेटियो ? शरीरमा के–कस्ता चिनारी छन् ? भन्ने सबै विवरण व्यवस्थित रूपमा रेकर्ड गर्नुपर्छ ।’

डा. चौधरीका अनुसार नेपालका अधिकांश अस्पतालमा एकै पटक सयौं शव राख्न सक्ने चिस्यान गृह छैनन्

‘ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले धान्न सक्दैन,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘विपद्को अवस्थामा राज्यले वैकल्पिक र अस्थायी शव भण्डारणको व्यवस्था गर्नुपर्छ ।’

त्यस्तै, वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार सबैभन्दा पहिले शवलाई सुरक्षित राख्नुपर्ने र त्यसपछि वैज्ञानिक प्रक्रियाबाट पहिचान गर्नुपर्छ ।

‘सबैभन्दा पहिले शव सुरक्षित राख्नुपर्छ । तुरुन्तै सबैको पहिचान गर्न सकिँदैन । त्यसका लागि समय लाग्छ । आफन्तले पनि खोज्दै आउँछन् । त्यसैले राज्यले शव सुरक्षित राख्ने व्यवस्था तत्काल गर्नुपर्छ,’ डा. वस्तीले अनलाइनखबरसँग भने ।

अस्थायी रूपमा गाडेर शव संरक्षण गर्न सकिने

फोरेन्सिक विशेषज्ञ डा. चौधरीका अनुसार ठूलो संख्यामा शव फेला पर्दा अस्थायी रूपमा सुरक्षित स्थानमा वैज्ञानिक तरिकाले गाडेर राख्नु प्रभावकारी उपाय हुन सक्छ ।

यसका लागि पानीको मुहान र बस्तीबाट सुरक्षित दूरीमा रहेको सरकारी वा अन्य सुरक्षित जग्गा पहिचान गर्नुपर्ने उनले बताए । आवश्यक गहिराइको खाल्डो बनाएर शवलाई व्यवस्थित रूपमा राख्न सकिने उनको सुझाव छ ।

‘शवलाई जमिनमुनि राख्दा बाहिरी वातावरणमा राखेकोभन्दा कुहिने प्रक्रिया ढिलो हुन्छ,’ डा. चौधरी भन्छन्, ‘ठूलो विपद्मा अस्थायी रूपमा वैज्ञानिक तरिकाले गाडेर शव सुरक्षित राख्न सकिन्छ । पछि आफन्त आएर पहिचान भएपछि सम्बन्धित विवरणसँग मिलाएर शव निकालेर जिम्मा दिन सकिन्छ ।’

चौधरीका अनुसार यसरी गाड्नुअघि प्रत्येक शवको छुट्टाछुट्टै नम्बर राखेर ट्यागिङ गर्नुपर्छ । शवको तस्वीर, भेटिएको स्थान, समय, लुगा, गहना तथा शरीरमा भएका विशेष चिनारीको विवरण पनि सुरक्षित राख्नुपर्ने हुन्छ । शव कहाँ र कुन क्रममा राखिएको हो भन्ने रेकर्ड पनि स्पष्ट हुनुपर्छ ।

गर्मी मौसमका कारण शव छिट्टै कुहिन सक्छ । बाढीले शरीर क्षतविक्षत भएका, अंग छुट्टिएका वा लामो समय पानीमा रहेका शवको पहिचान झन् कठिन हुन्छ ।

डा. वस्तीका अनुसार अस्थायी रूपमा गाडेर शव संरक्षण गर्न पनि सकिन्छ । तर त्यसका लागि निश्चित विधि र व्यवस्थापन आवश्यक पर्छ ।

‘गाडेर पनि केही समय राख्न सकिन्छ । तर त्यसका लागि स्थान व्यवस्थापन गर्नुपर्‍यो, खाडल बनाउनुपर्‍यो । सबै कुरा रेकर्ड राख्नुपर्छ,’ डा. वस्ती भन्छन्, ‘जुन पायो त्यही तरिकाले शव व्यवस्थापन गर्न मिल्दैन । यसको निश्चित प्रोटोकल छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय