काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी भएर बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल आयल निगमले खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन इन्धन आपूर्तिमा सक्रियता देखाएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण पुगेको जनधनको क्षतिप्रति निगमले दुःख व्यक्त गर्दै पीडितहरूको सहयोगका लागि विभिन्न कदम चालिरहेको जानकारी दिएको छ। निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, सरकारका विभिन्न निकायहरूसँगको समन्वयमा भदौ १० गतेदेखि नै उद्धार कार्यका लागि आवश्यक इन्धनको व्यवस्था मिलाइएको छ ।यस्तै खोज तथा उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि निगमले नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ (इन्धन भर्ने) सेवा उपलब्ध गराएको छ । भदौ १० गतेदेखि १३ गतेसम्ममा कुल ४०,८४० लिटर हवाई इन्धन पठाइसकिएको निगमले जनाएको छ । निगमका अनुसार भदौ १० मा १२,००० लिटर, ११ मा १०,८४० लिटर, १२ मा ९,००० लिटर र १३ गते ९,००० लिटर इन्धन उपलब्ध गराइएको हो ।यसैगरी बाढी प्रभावित क्षेत्रमा सवारी साधन र अन्य प्रयोजनका लागि निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट इन्धनको आपूर्ति बढाइएको छ । भदौ १३ गतेसम्म प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूलाई ७२,००० लिटर पेट्रोल र ६२,००० लिटर डिजेल उपलब्ध गराइएको छ । मागलाई सम्बोधन गर्न सार्वजनिक बिदाका दिनमा समेत बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ ।
विपद्का कारण आश्रयस्थल (सेल्टर) मा रहेका व्यक्तिहरूका लागि खाना पकाउने ग्यासको समेत व्यवस्था गरिएको छ । नेपाल ग्यास उद्योग र एलपी ग्यास उद्योग सङ्घसँगको समन्वयमा नुवाकोट र रसुवाका लागि कुल ३८२ थान भरिएका सिलिन्डरहरू राहत स्वरूप पठाइएको छ ।
निगमले आगामी दिनमा पनि राष्ट्रिय विपद् र अप्ठ्यारो परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








