रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका थप ७ वटा शव बुटवल ल्याइएको छ।
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा शव राख्ने ठाउँको अभाव भएपछि ती शवहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्थानान्तरण गरिएको हो।यसअघि ११ वटा शव बुटवल ल्याइएको थियो। थप ७ वटा शव ल्याइएसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै बाढीमा परी ज्यान गुमाएका १८ जनाको शव पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।अस्पतालमा राखिएका १८ वटा शवमध्ये १३ पुरुष र ५ महिला रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार बुटवल ल्याइएका सम्पूर्ण शवहरू पश्चिम नवलपरासीका विभिन्न नदी तथा तटीय क्षेत्रमा फेला परेका हुन्।यसैगरी भैरहवास्थित भीम अस्पतालमा पनि तीन जना महिलाको शव राखिएको प्रहरीले जनाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि भोटेकोशी हुँदै बगेर आएका शवहरू निरन्तर फेला परिरहेका छन्। शवको संख्या लगातार बढ्दै गएपछि स्थानीय अस्पतालहरूमा शवगृहको क्षमताभन्दा बढी भई व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ।







