जागिरको सुरक्षित बाटो छोडेर उद्यमशीलतामा होमिएका रेग्मी भन्छन्— “विदेश जानु गलत होइन, तर सफल हुन विदेश नै जानुपर्छ भन्ने सोच सही होइन।”
नेपालमा अवसर सीमित छन्, व्यवसाय गर्न कठिन छ र सफल भविष्यका लागि विदेश नै रोज्नुपर्छ भन्ने सोच पछिल्लो समय धेरै युवामा देखिन्छ। तर चुनौतीकै बीच अवसर खोज्दै नेपालमै व्यवसाय निर्माण, रोजगारी सिर्जना र नयाँ क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढिरहेका युवा उद्यमी हुन् नबराज रेग्मी।
गोरखामा जन्मिएर प्रारम्भिक शिक्षा पूरा गरेका रेग्मी उच्च शिक्षाको खोजीमा काठमाडौं आए। ललितपुरको प्रसादी एकेडेमीबाट +२ अध्ययन गरेका उनले त्यसपछि व्यवस्थापन विषयमा बीबीए र एमबीए पूरा गरे। विद्यार्थी जीवनबाट सुरु भएको उनको काठमाडौं यात्रा जागिर, व्यावसायिक संघर्ष र अनुभवका विभिन्न चरण पार गर्दै अन्ततः उद्यमशीलतामा आइपुग्यो।
गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्बन्धित क्षेत्रबाट जागिरे जीवन सुरु गरेका उनले पछि अस्पतालको वित्त विभागमा काम गरे। त्यही अनुभवले उनलाई वित्तीय व्यवस्थापनसँगै संस्थागत प्रणाली, आन्तरिक नियन्त्रण, लागत व्यवस्थापन, नेतृत्व र स्वास्थ्य संस्थाको सञ्चालन नजिकबाट बुझ्ने अवसर दियो।
स्थायी जागिरको सुरक्षित बाटो छोडेर व्यवसायमा पूर्णकालीन रूपमा लाग्ने निर्णय सहज थिएन। तर त्यही निर्णयबाट विस्तार भएको GFCS Corporate आज लेखा, कर, वित्तीय तथा व्यवसाय परामर्श क्षेत्रमा आफ्नो पहिचान निर्माण गर्ने क्रममा छ। संस्थामा हाल २५ भन्दा बढी जनशक्ति कार्यरत छन्।
रेग्मीको व्यावसायिक यात्रा वित्तीय परामर्शमा मात्रै सीमित छैन। स्वास्थ्य क्षेत्रमा लगानी गर्दै उनी INOVA Hospitalसँग समेत जोडिएका छन्। हाल पाँचभन्दा बढी व्यावसायिक तथा लगानीका क्षेत्रमा सक्रिय रेग्मी आगामी दशकमा आफ्ना संस्थाहरू विस्तार गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य राख्छन्।
उनको उद्यमशीलताको मूल सोच भने सरल छ—व्यवसायको सफलता नाफा र आकारले मात्रै होइन, त्यसले कति रोजगारी सिर्जना गर्यो, कति मानिसको जीवनमा सकारात्मक प्रभाव पार्यो र समाजमा कति मूल्य थप्यो भन्ने आधारमा पनि मापन हुनुपर्छ।
उनै युवा उद्यमी नबराज रेग्मीसँग बाल्यकाल, शिक्षा, जागिरे जीवन, उद्यमशीलताको सुरुवात, GFCS Corporate को विस्तार, INOVA Hospital मा लगानी, नेतृत्व, युवा रोजगारी र नेपालमा उद्यमशीलताको सम्भावनाबारे गरिएको कुराकानी:
गोरखादेखि काठमाडौंसम्म
तपाईंको बाल्यकाल र प्रारम्भिक जीवन कस्तो रह्यो?
मेरो जन्म गोरखामा भएको हो। बाल्यकाल र प्रारम्भिक शिक्षा पनि त्यहीँ बित्यो। सामान्य परिवेशमा हुर्किए पनि हाम्रो परिवारमा शिक्षालाई उच्च प्राथमिकता दिइन्थ्यो। सानैदेखि मेहनत गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ र जीवनमा आफ्नै पहिचान बनाउनुपर्छ भन्ने संस्कार पाएँ।
गोरखामा हुर्कँदा सीमित स्रोतसाधनबीच उपलब्ध अवसरको अधिकतम उपयोग गर्न सिकियो। जीवनमा सबै कुरा सहज रूपमा प्राप्त हुँदैन भन्ने कुरा सानैदेखि बुझियो। अहिले व्यवसायमा आउने उतारचढाव र चुनौती सामना गर्दा त्यही परिवेशले सिकाएको धैर्य र संघर्ष गर्ने बानी उपयोगी भएको महसुस गर्छु।
उच्च शिक्षाका लागि काठमाडौं आउँदाको अनुभव कस्तो थियो?
विद्यालय तहको अध्ययनपछि करिब २०६६ सालतिर उच्च शिक्षाका लागि काठमाडौं आएँ। गोरखाबाट काठमाडौं आउँदा सपना धेरै थिए, तर भविष्यको बाटो स्पष्ट थिएन। नयाँ ठाउँ, फरक जीवनशैली र कडा प्रतिस्पर्धाबीच आफूलाई स्थापित गर्नु चुनौतीपूर्ण थियो।
विद्यालय तहदेखि नै पढाइमा राम्रो भएकाले त्यस समय प्रतिष्ठित शैक्षिक संस्थामध्ये मानिने ललितपुरको प्रसादी एकेडेमीमा +२ अध्ययन गर्ने अवसर पाएँ। त्यहाँको प्रतिस्पर्धात्मक शैक्षिक वातावरण र अनुशासनले मेरो सोचमा ठूलो प्रभाव पार्यो।
त्यही समयमा मैले बुझें—ठूलो सपना देख्नु सफलताको सुरुवात मात्रै हो; त्यसलाई वास्तविकतामा बदल्न अनुशासन, निरन्तरता र मेहनत आवश्यक हुन्छ।
पछि बीबीए र एमबीए अध्ययन गर्दै व्यवस्थापन, वित्त, संस्थागत सञ्चालन र व्यवसायलाई अझ गहिरो रूपमा बुझ्ने अवसर पाएँ।
परिवारले तपाईंको यात्रामा कस्तो भूमिका खेल्यो?
मेरो यात्राको बलियो आधार परिवार हो। विशेषगरी संघर्षका समयमा परिवारबाट पाएको विश्वास र नैतिक समर्थन महत्वपूर्ण रह्यो।
मेरा बुबा मेरो जीवनका प्रमुख प्रेरणास्रोत हुनुहुन्छ। उहाँले सधैँ भन्नुहुन्थ्यो, “पढ्नैपर्छ र एक दिन आफ्नै व्यवसाय गर्नुपर्छ।”
त्यो सामान्य वाक्यजस्तो लागे पनि मेरो जीवनमा त्यसले गहिरो प्रभाव पार्यो। आज म व्यवसायमा जे गरिरहेको छु, त्यसको आधारमा उहाँबाट सिकेको अनुशासन, आत्मविश्वास र आत्मनिर्भरताको संस्कार पनि जोडिएको छ।
जागिरले सिकाएको व्यवसाय
तपाईंको व्यावसायिक जीवनको सुरुवात कसरी भयो?
मेरो जागिरे जीवन गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्बन्धित क्षेत्रबाट सुरु भयो। नेपालको पूर्वी क्षेत्रमा बसेर काम गर्ने अवसर पाएँ।
कक्षाकोठामा पढेको व्यवस्थापन र वास्तविक कार्यक्षेत्रबीचको अन्तर त्यहीँ पुगेपछि बुझ्न थालेँ। समय व्यवस्थापन, रिपोर्टिङ, जिम्मेवारी, संस्थागत अनुशासन र फरक पृष्ठभूमिका मानिससँग समन्वय गरेर काम गर्ने क्षमता त्यही अनुभवबाट विकास भयो।
करिब एक वर्षपछि थप चुनौतीपूर्ण र व्यावहारिक क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रतर्फ आएँ।
अस्पतालको वित्त विभागमा काम गरेको अनुभवले के सिकायो?
अस्पताल एउटा अत्यन्त संवेदनशील र जटिल संस्था हो। त्यहाँ स्वास्थ्य सेवा मात्रै हुँदैन; वित्त, प्रशासन, जनशक्ति, व्यवस्थापन, आन्तरिक नियन्त्रण र निर्णय प्रक्रिया सबै एकअर्कासँग जोडिएका हुन्छन्।
काठमाडौंको एउटा अस्पतालको वित्त विभागमा काम गर्दा वित्तीय व्यवस्थापनसँगै लागत नियन्त्रण, संस्थागत प्रणाली, कर्मचारी समन्वय र व्यवस्थापनका विभिन्न पक्ष नजिकबाट बुझ्न पाएँ।
आज म स्वास्थ्य क्षेत्रमा लगानी र व्यवस्थापनसँग जोडिन सक्नुमा त्यो अनुभवको महत्वपूर्ण भूमिका छ।
राम्रो जागिर छोडेर व्यवसायमा जाने निर्णय किन गर्नुभयो?
जागिरलाई मैले कहिल्यै मासिक तलब लिने माध्यमका रूपमा मात्रै हेरिनँ। जहाँ काम गरेँ, त्यहाँ संस्था कसरी चल्छ, समस्या कहाँ आउँछ, व्यवस्थापनले निर्णय कसरी गर्छ र सेवाग्राहीको अपेक्षा के हुन्छ भन्ने सिक्ने प्रयास गरेँ।
तर एउटा चरणपछि मैले आफ्नो भविष्यको दिशा फरक देख्न थालेँ। जागिरे जीवनका केही कठिन अनुभवले पनि मलाई आफ्नो क्षमता र मूल्यबारे गम्भीर भएर सोच्न बाध्य बनायो।
म त्यसलाई अहिले नकारात्मक घटनाका रूपमा हेर्दिनँ। कहिलेकाहीँ असहज परिस्थितिले मानिसलाई आफ्नो वास्तविक क्षमता खोज्न र नयाँ बाटो रोज्न प्रेरित गर्छ।
जागिर छोड्नु तत्कालको भावनात्मक निर्णय थियो?
होइन। व्यवसायमा प्रवेश गर्ने तयारी मैले पहिल्यै सुरु गरिसकेको थिएँ। बजारको आवश्यकता, सम्भावित सेवा, ग्राहकको समस्या र आफ्नो क्षमताबारे अध्ययन गरिरहेको थिएँ।
त्यसैले जागिर छोड्नु जोखिमपूर्ण निर्णय अवश्य थियो, तर आवेगमा गरिएको निर्णय थिएन। मैले आफ्नो भविष्यको एउटा रोडम्याप बनाएर नै त्यो कदम चालेको थिएँ।
जागिरबाट GFCS Corporate सम्म
GFCS Corporate स्थापना गर्ने सोच कसरी आयो?
विभिन्न संस्थामा काम गर्दा मैले धेरै व्यवसायीलाई लेखा, कर, वित्तीय व्यवस्थापन र कानुनी अनुपालनमा व्यवस्थित व्यावसायिक सहयोगको आवश्यकता रहेको देखेँ।
बजारमा सेवा प्रदायकहरू थिए, तर ग्राहकको व्यवसायलाई दीर्घकालीन रूपमा बुझेर वित्तीय अनुशासन र संस्थागत प्रणाली निर्माणमा समेत सहयोग गर्ने क्षेत्रमा अझै सम्भावना देखेँ।
त्यही आवश्यकताबाट GFCS Corporate को अवधारणा विकास भयो।
मेरो उद्देश्य केवल लेखा राख्ने वा कर विवरण बुझाउने संस्था बनाउनु थिएन। व्यवसायीलाई वित्तीय रूपमा व्यवस्थित बनाउने, करसम्बन्धी चेतना बढाउने र व्यवसायलाई दीर्घकालीन रूपमा दिगो बनाउन सहयोग गर्ने संस्था निर्माण गर्नु थियो।
पूर्णकालीन उद्यमी बन्ने मोड कहिले आयो?
सन् २०२२ तिर मैले स्थायी जागिर छोडेर पूर्णकालीन रूपमा उद्यमशील यात्रामा जाने निर्णय गरेँ। त्यसअघि GFCS को आधार तयार भइसकेको थियो। जागिर छोडेपछि आफ्नो समय, ऊर्जा र ध्यान पूर्ण रूपमा व्यवसायमा केन्द्रित गरेँ।
सुरुमा सबैभन्दा कठिन कुरा बजारको विश्वास जित्नु थियो। नयाँ संस्था भएकाले ठूलो नाम वा व्यापक नेटवर्क थिएन। ग्राहकलाई हामीले दिने सेवाको मूल्य कामबाटै प्रमाणित गर्नुपर्ने अवस्था थियो।
त्यसैले ठूलो प्रचारभन्दा हामीले कामको गुणस्तर, समयबद्धता, पारदर्शिता र ग्राहकप्रतिको जिम्मेवारीलाई प्राथमिकता दियौँ। एउटा सन्तुष्ट ग्राहकबाट अर्को ग्राहक जोडिँदै जानुभयो। हाम्रो वृद्धि मूलतः विश्वासबाट भएको हो।
GFCS को वृद्धिको मुख्य आधार के हो?
म चार–पाँचवटा कुरा महत्वपूर्ण मान्छु—इमानदारी, व्यावसायिकता, गुणस्तरीय सेवा, कर तथा वित्तीय शिक्षाप्रतिको चेतना र युवा जनशक्तिमाथिको विश्वास।
हाम्रो उद्देश्य “service provider” मात्रै बन्ने होइन। हामी ग्राहकको long-term professional partner बन्न चाहन्छौँ।
लेखा तयार गर्ने वा कर विवरण बुझाएपछि हाम्रो जिम्मेवारी सकियो भन्ने सोच राख्दैनौँ। ग्राहकको वित्तीय अनुशासन, compliance, internal system र दीर्घकालीन व्यावसायिक स्थायित्वमा कसरी योगदान गर्न सकिन्छ भन्ने कुरामा जोड दिन्छौँ।
संस्थामा अहिले कति जनाले रोजगारी पाइरहेका छन्?
हाल GFCS मा २५ भन्दा बढी कर्मचारी कार्यरत छन्। धेरै युवा साथीहरू स्नातक वा स्नातकोत्तर अध्ययनसँगै व्यावसायिक अनुभव हासिल गरिरहेका छन्।
मेरो लागि यो संख्या मात्रै होइन। एउटा सानो प्रयासबाट सुरु भएको संस्थाले २५ भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी दिन सक्नु र त्यससँगै उनीहरूका परिवारसँग अप्रत्यक्ष रूपमा जोडिन पाउनु ठूलो जिम्मेवारी र सन्तुष्टि दुवै हो।
व्यवसायको आम्दानी र नाफा आवश्यक छन्। तर आफूले निर्माण गरेको संस्थाले अर्को व्यक्तिलाई आफ्नो करियर बनाउन सहयोग गरिरहेको देख्नु मेरो लागि फरक किसिमको उपलब्धि हो।
कर्मचारी होइन, भविष्यका नेतृत्वकर्ता
युवा जनशक्तिलाई बढी अवसर दिनुको कारण के हो?
म आफैँ अवसर खोज्दै संघर्ष गरेर आएको व्यक्ति हुँ। हामीले प्रायः “अनुभवी व्यक्ति चाहियो” भन्छौँ। तर अनुभव नभएको कारण युवालाई अवसर नै नदिने हो भने उसले अनुभव कहाँबाट ल्याउने?
त्यसैले क्षमता भएको र सिक्न इच्छुक युवालाई अवसर दिनुपर्छ भन्ने मेरो मान्यता छ।
नयाँ कर्मचारी छनोट गर्दा सबै कुरा जान्ने व्यक्ति खोज्दिनँ। सिक्ने इच्छा, इमानदारी, अनुशासन र जिम्मेवारीबोधलाई बढी महत्व दिन्छु। प्राविधिक ज्ञान सिकाउन सकिन्छ, तर कामप्रतिको दृष्टिकोण र जिम्मेवारीको भावना अझ महत्वपूर्ण हुन्छ।
तपाईंका लागि नेतृत्वको अर्थ के हो?
नेतृत्व भनेको कुर्सीमा बसेर आदेश दिनु होइन। मेरो बुझाइमा नेतृत्व भनेको जिम्मेवारी लिनु, अरूलाई अवसर दिनु, उनीहरूको क्षमता विकास गर्नु र कठिन समयमा टिमको अगाडि उभिनु हो।
सफल नेता आफू मात्र अगाडि बढेर हुँदैन। उसले आफूसँग काम गर्ने मानिसलाई पनि अगाडि बढ्ने वातावरण बनाउनुपर्छ।
त्यसैले GFCS मा काम गर्ने युवा भविष्यमा कर्मचारीमै सीमित नहून् भन्ने चाहन्छु। उनीहरू manager, leader, consultant वा entrepreneur बन्न सकून्। संस्था केवल रोजगारी दिने ठाउँ होइन, मानिसको करियर र नेतृत्व क्षमता निर्माण गर्ने प्लेटफर्म पनि बन्नुपर्छ।
वित्तीय क्षेत्रबाट INOVA Hospital सम्म
स्वास्थ्य क्षेत्रमा लगानी गर्ने सोच कसरी आयो?
अस्पताल क्षेत्रमा पहिले काम गरेको अनुभवका कारण स्वास्थ्य क्षेत्रसँग मेरो व्यावसायिक र भावनात्मक दुवै सम्बन्ध रह्यो।
वित्तीय तथा व्यवस्थापकीय ज्ञानलाई स्वास्थ्य सेवा व्यवस्थापनसँग जोडेर दीर्घकालीन योगदान गर्न सकिन्छ भन्ने विश्वास थियो। उपयुक्त अवसर आएपछि स्वास्थ्य क्षेत्रमा लगानी गर्ने निर्णय गरेँ।
INOVA Hospital सँग कसरी जोडिनुभयो?
विभिन्न व्यावसायिक सम्बन्ध र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर रुचिका क्रममा INOVA Hospital सँग जोडिने अवसर आयो। संस्थाको सम्भावना र भविष्यप्रति विश्वास लागेपछि लगानीकर्ताका रूपमा जोडिएँ।
म अस्पतालका कान्छा लगानीकर्तामध्ये एक हुँ। लगानीसँगै संस्थाको दीर्घकालीन विकास, वित्तीय अनुशासन र व्यवस्थापनलाई थप मजबुत बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेमा मेरो चासो छ।
अस्पताललाई अन्य व्यवसायभन्दा कसरी फरक देख्नुहुन्छ?
अस्पताललाई सामान्य व्यापारको दृष्टिकोणले मात्रै हेर्न मिल्दैन। यहाँ मानिसको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष सम्बन्ध हुन्छ।
त्यसैले नाफाभन्दा अगाडि सेवा, गुणस्तर, नैतिकता र बिरामीको विश्वास आउँछ। संस्था वित्तीय रूपमा दिगो हुनुपर्छ, तर आर्थिक लक्ष्य हासिल गर्ने क्रममा स्वास्थ्य सेवाको संवेदनशीलता र मानवीय पक्ष कहिल्यै कमजोर हुनु हुँदैन।
भविष्यमा INOVA Hospital लाई गुणस्तरीय सेवा, सक्षम जनशक्ति, व्यवस्थित व्यवस्थापन र बिरामीमैत्री संस्कृतिमा आधारित विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा विकास भएको देख्न चाहन्छु।
एउटै व्यवसायमा सीमित छैन यात्रा
अहिले कति व्यावसायिक क्षेत्रमा संलग्न हुनुहुन्छ?
हाल म पाँचभन्दा बढी व्यावसायिक तथा लगानीका क्षेत्रमा सक्रिय छु। वित्तीय तथा व्यवसाय परामर्श र स्वास्थ्य क्षेत्रसँगै अन्य सम्भावनायुक्त क्षेत्रमा पनि क्रमशः काम विस्तार भइरहेको छ।
तर धेरै कम्पनी वा व्यवसायमा नाम जोड्नु मेरो लक्ष्य होइन। म जहाँ संलग्न हुन्छु, त्यहाँ दीर्घकालीन मूल्य सिर्जना गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।
धेरै व्यवसाय कसरी व्यवस्थापन गर्नुहुन्छ?
एक व्यक्तिले सबै काम आफैँ गर्न खोजेर संस्था ठूलो बनाउन सकिँदैन। त्यसैले system, delegation र team building व्यवसाय विस्तारका महत्वपूर्ण आधार हुन्।
सही व्यक्तिलाई सही जिम्मेवारी दिन सक्नुपर्छ। नेतृत्वले हरेक काम आफैँ गर्ने होइन, काम गर्न सक्ने प्रणाली र टिम निर्माण गर्ने हो।
नयाँ क्षेत्रमा लगानी गर्दा पनि बजारको वास्तविक आवश्यकता, दीर्घकालीन सम्भावना, व्यवस्थापन क्षमता, जोखिम र त्यस व्यवसायले सिर्जना गर्ने मूल्य हेर्छु। छोटो अवधिको नाफाभन्दा दीर्घकालीन रूपमा दिगो हुन सक्ने क्षेत्रमा मेरो रुचि बढी छ।
“नेपालमा समस्या छन्, तर समस्याभित्रै अवसर पनि छन्”
धेरै युवा विदेश गइरहेका बेला तपाईं नेपालमै सम्भावना किन देख्नुहुन्छ?
मेरो विश्वास सरल छ—मेहनत जहाँ गए पनि गर्नुपर्छ।
विदेशमा सफल हुन पनि अनुशासन, मेहनत र निरन्तरता चाहिन्छ। यदि त्यही मेहनत, समय र ऊर्जा आफ्नै देशमा सही क्षेत्रमा लगाउन सकियो भने व्यक्तिगत सफलतासँगै समाज र देशका लागि पनि केही मूल्य सिर्जना गर्न सकिन्छ।
नेपालमा समस्या छैनन् भन्ने होइन। पूँजी, नीति, प्रशासनिक प्रक्रिया, बजार, दक्ष जनशक्ति र प्रतिस्पर्धासम्बन्धी चुनौती छन्। तर चुनौती हुनु र सम्भावना नहुनु फरक कुरा हो।
उद्यमीको काम समस्या नभएको ठाउँ खोज्नु मात्र होइन; समस्याभित्र समाधान र अवसर पहिचान गर्नु पनि हो।
विदेश जाने युवालाई रोक्नुपर्छ भन्ने तपाईंको धारणा हो?
होइन। विदेश जानु गलत हो भन्ने मेरो सोच छैन।
उच्च शिक्षा, सीप, प्रविधि, अनुभव र राम्रो अवसरका लागि विदेश जानु स्वाभाविक हो। विश्वबाट सिक्नुपर्छ। तर “नेपालमा केही हुँदैन, सफल हुन विदेश नै जानुपर्छ” भन्ने निष्कर्ष चाहिँ सही होइन भन्ने लाग्छ।
विदेशबाट हासिल गरेको ज्ञान, सीप, नेटवर्क, प्रविधि र पूँजीलाई कुनै चरणमा नेपालसँग जोड्न सकियो भने त्यसको प्रभाव अझ ठूलो हुन सक्छ।
नेपालमै बस्ने युवाले पनि अवसर कसैले तयार गरेर दिन्छ भनेर पर्खनुभन्दा आफ्नो क्षमता विकास गरेर अवसर पहिचान र सिर्जना गर्न सिक्नुपर्छ।
नेपालका व्यवसायीमा वित्तीय तथा कर चेतनाको अवस्था कस्तो देख्नुहुन्छ?
धेरै व्यवसायीले राम्रो कारोबार गरिरहेका हुन्छन्, तर उचित लेखा प्रणाली, कर योजना, documentation र कानुनी अनुपालनमा पर्याप्त ध्यान नदिएको अवस्था पनि देखिन्छ। व्यवसाय विस्तार हुँदै गएपछि यही कमजोरी ठूलो जोखिम बन्न सक्छ।
मेरो विचारमा कर तिर्नु मात्रै कर शिक्षा होइन; आफ्नो व्यवसायको कानुनी र वित्तीय अवस्था बुझ्नु पनि कर शिक्षाको महत्वपूर्ण हिस्सा हो।
पारदर्शी लेखा, सही कर अनुपालन र वित्तीय अनुशासनले व्यवसायलाई सुरक्षित मात्रै बनाउँदैन, बैंक, लगानीकर्ता र अन्य सरोकारवालाको विश्वास पनि बढाउँछ।
GFCS मार्फत हामी व्यवसायीमा यही किसिमको वित्तीय तथा कर चेतना विस्तार गर्न चाहन्छौँ।
अबको लक्ष्य—देशव्यापी विस्तार
GFCS Corporate लाई आगामी वर्षहरूमा कहाँ पुर्याउने योजना छ?
हाम्रो लक्ष्य GFCS लाई एउटा शहर वा निश्चित ग्राहक समूहमा सीमित राख्ने होइन।
भविष्यमा नेपालभर सेवा सञ्जाल विस्तार गर्दै गुणस्तरीय लेखा, कर, वित्तीय तथा व्यवसाय परामर्श सेवा देशव्यापी रूपमा पुर्याउने योजना छ।
यसका लागि प्रविधि, दक्ष जनशक्ति, संस्थागत प्रणाली र ग्राहक सेवामा थप लगानी गर्नुपर्नेछ। GFCS लाई व्यवसायीले समस्या पर्दा मात्रै सम्झिने संस्था होइन, व्यवसायको यात्रामा निरन्तर साथ दिने विश्वसनीय दीर्घकालीन व्यावसायिक साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य छ।
संस्था ठूलो बनाउनु मात्रै मेरो उद्देश्य होइन। संस्थासँगै सक्षम जनशक्ति र भविष्यका नेतृत्वकर्ता पनि निर्माण गर्न चाहन्छु।
आगामी १० वर्षमा आफूलाई कहाँ देख्न चाहनुहुन्छ?
आगामी दशकमा आफूलाई नेपालका स्थापित वित्तीय तथा स्वास्थ्य सेवा उद्यमीमध्ये एकका रूपमा विकास भएको देख्न चाहन्छु।
GFCS Corporate लाई देशव्यापी रूपमा विस्तार गर्ने, स्वास्थ्य क्षेत्रमा दीर्घकालीन लगानी गर्ने, सम्भावनायुक्त अन्य व्यवसायमा प्रवेश गर्ने र ठूलो संख्यामा युवाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य छ।
तर मेरो सफलताको मापन व्यक्तिगत सम्पत्ति वा मेरा कम्पनीहरूको संख्या मात्र हुने छैन।
मैले निर्माण गरेका संस्थाबाट कति युवाले अवसर पाए, कति व्यवसाय व्यवस्थित भए, कति परिवारको आर्थिक जीवनमा सकारात्मक प्रभाव पर्यो र देशका लागि कति मूल्य सिर्जना भयो—मेरो लागि सफलताको वास्तविक मापन त्यही हुनेछ।
अन्त्यमा, नेपाली युवालाई के भन्न चाहनुहुन्छ?
म आफैँ पनि अझै यात्रामै छु। धेरै सिक्न बाँकी छ, धेरै काम गर्न बाँकी छ र धेरै लक्ष्य हासिल गर्न बाँकी छन्। त्यसैले आफूलाई सफलताको अन्तिम बिन्दुमा पुगेको व्यक्तिका रूपमा होइन, निरन्तर सिकिरहेको उद्यमीका रूपमा हेर्छु।
तर आफ्नो यात्राबाट एउटा कुरा भने विश्वासका साथ भन्न सक्छु—
सफलता रातारात प्राप्त हुँदैन।
मैले पनि जागिर गरेँ, सिकेँ, कठिन परिस्थिति सामना गरेँ, जोखिम लिएँ र शून्यबाट विश्वास निर्माण गर्ने प्रयास गरेँ। सुरुको संघर्षलाई अन्तिम असफलता ठानेर लक्ष्य छोड्नु हुँदैन।
विदेश जानु गलत होइन। तर सफल हुन विदेश जानैपर्छ भन्ने सोच पनि सही होइन। ज्ञान, सीप, अनुशासन, इमानदारी र दीर्घकालीन सोचका साथ काम गर्ने हो भने नेपालमै पनि धेरै कुरा निर्माण गर्न सकिन्छ।
विशेषगरी युवालाई म एउटा कुरा भन्न चाहन्छु—
केवल जागिर खोज्ने सपना नदेख्नुहोस्, कुनै दिन अरूलाई जागिर दिन सक्ने बन्ने सपना पनि देख्नुहोस्।
ठूलो सपना देख्नुहोस्, तर सानो सुरुवात गर्न नडराउनुहोस्। निरन्तर सिक्नुहोस्। आफ्नो कामप्रति इमानदार रहनुहोस्। असफलताबाट भाग्नुको सट्टा त्यसबाट सिक्नुहोस् र कठिन समयमा धैर्य नगुमाउनुहोस्।
मेरो जीवन र व्यवसायमा मार्गदर्शन गरिरहेको एउटा विश्वास छ—
“मेहनत जहाँ गरे पनि गर्नुपर्छ। त्यही मेहनत आफ्नै देशमा गरेर आफू सफल हुनुका साथै अरूका लागि पनि अवसर सिर्जना गर्न सकियो भने त्यो सफलता अझ अर्थपूर्ण हुन्छ।”
नेपाल छोड्नु एउटा विकल्प हुन सक्छ, तर नेपालमै केही निर्माण गर्नु पनि उत्तिकै शक्तिशाली विकल्प हो।
हामी प्रत्येकले आफ्नो क्षेत्रमा अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने प्रयास गर्न थाल्यौँ भने नेपाल केवल सम्भावनाको देश होइन, सफलताको देश पनि बन्न सक्छ।







