सडक विस्तारका नाममा सडक क्षेत्राधिकारभित्रका रुख काटेर सरकारी सम्पत्तिमा हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङका ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्दै प्रतिवादीहरूबाट १ करोड ६९ लाख १६ हजार ४०३ रुपैयाँ बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।अख्तियारका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुवाङ–लमही सडकखण्डको चेनेज ६९०+००० देखि ७१२+००० सम्म सडक विस्तारका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका सिसौलगायत विभिन्न जातका करिब १ हजार ४ सयभन्दा बढी रुख काटिएको थियो ।वन तथा सडक कार्यालयबाट रुख कटानसम्बन्धी काम अघि बढाउँदा प्रचलित कानुनी प्रक्रिया पूरा नगरेको र सरकारी सम्पत्तिको संरक्षणमा जिम्मेवार निकाय तथा पदाधिकारीले आफ्नो दायित्व पूरा नगरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीको समेत यस प्रकरणमा संलग्नता देखिएको छ ।
अनुसन्धानका क्रममा सडक क्षेत्राधिकारभित्रका रुख कटानका लागि आवश्यक प्रक्रिया पूरा नगरी काठ व्यवस्थापन गरिएको तथा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुगेको पाइएको अख्तियारले जनाएको छ ।
को–को विरुद्ध कति बिगो ?
अख्तियारले जयसवाल र क्षेत्री दुवैबाट जनही ५१ लाख ३७ हजार ९०० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
त्यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टबाट ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष गेमे खड्काबाट ३ लाख ७१ हजार रुपैयाँ र वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष वीरबहादुर चौधरीबाट १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यसैगरी राप्ती गाउँपालिका–४ का अभिमान चौधरीबाट ७३ हजार ६४६ रुपैयाँ, सोही वडाका नन्दु गिरीबाट ३० हजार ९७० रुपैयाँ, वडा नम्बर २ का द्वारिका प्रसाद भण्डारीबाट १ लाख ४१ हजार २२६ रुपैयाँ तथा लमही नगरपालिका–२ का केशरबहादुर चौधरीबाट ३६ हजार ६१० रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गत कसुर कायम गरी बिगो असुलउपर, जरिवाना तथा कानुनबमोजिम सजायको मागदाबी गरेको छ ।







