काठमाडौँ। नेपाल औषधि आयातकर्ता सङ्घले भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यको अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
सङ्घले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई सोमबार राहत तथा उद्धारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका औषधिहरूमा मन्त्रालयको सूची बमोजिम कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टीरेबिज भ्याक्सिन र प्यारासिटामोल इन्जेक्सन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू समावेश रहेका छन्। बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सङ्घले प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा प्रभावितहरूको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको जनाएको छ।
मन्त्रालयको समन्वयमा यी औषधि तथा सामग्रीहरू बाढी प्रभावित क्षेत्र र स्थानीय स्वास्थ्य संस्थाहरूमा प्रभावकारी रूपमा वितरण हुने अपेक्षा सङ्घले राखेको छ। सङ्घका अध्यक्ष पवन कुमार आचार्य र महासचिव मधु पौडेलद्वारा जारी पत्रमा आगामी दिनमा पनि आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको सहज आपूर्ति र निरन्तर सहकार्यका लागि सङ्घ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।







