साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ ।
पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्ष भने सहभागी छैन । श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेले पहिले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेर बुधबारको बैठकमा किराँतीलाई बैठकमा सहभागी गराउने बताए ।‘बाहिर आएको हल्ला हल्ला मात्रै हो । एकताको निर्णय हाम्रो केन्द्रीय समितिले गरेको थिएन । आजको बैठकले त्यो अनुमोदन गरेपछि उहाँहरूलाई बैठकमा सहभागी गराउने हो,’ घलेले भने ।चार महिनाअघि पार्टी एकता हुँदा सुदन किराँतीलाई वरिष्ठ नेता बनाइएको थियो। किराँती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना पार्टी एकतामा सहभागी भएका थिए। एकताअघि २३ सदस्यीय रहेको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति एकतापछि ४१ सदस्यीय बनेको थियो।पार्टी एकतापछि सुदन किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने बताइएको थियो । बैठकमा आफूहरूलाई नबोलाएको वरिष्ठ नेता किराँतीले बताए । ‘बैठक छ भन्ने सुनेको हो, हामीलाई बोलाएको छैन,’ उनले भने, ‘किन नबोलाएको हो भन्ने थाहा छैन ।’







