बेलायती लक्जरी अटो कार निर्माता कम्पनी रेञ्ज रोभरले पहिलो पूरै विद्युतीय मोडल सार्वजनिक गरेको छ । पूर्वनिर्धारित योजनाभन्दा करिब एक वर्ष ढिलो गरी कम्पनीले यो मोडल सार्वजनिक गरेको हो ।
यो कार बेलायतको सोलिहलमा उत्पादन गरिनेछ । कम्पनीको विद्युतीकरण योजनामा यो नयाँ मोडललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसको उत्पादनका लागि वेस्ट मिडल्यान्ड्स क्षेत्रमा रहेका कम्पनीका उत्पादन केन्द्रहरूमा ठूलो स्तरमा पूर्वाधार विस्तार तथा आधुनिकीकरण गरिएको छ ।रेन्ज रोभरको माउ कम्पनी जेएलआरका अनुसार विद्युतीय कार उत्पादनका लागि १० हजार ५०० कर्मचारीलाई आवश्यक सीपसम्बन्धी तालिम दिइएको छ । सोलिहलमा मात्रै करिब ९ हजार कर्मचारीलाई विद्युतीय सवारी उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ भने क्षेत्रभर थप १ हजार ५०० कर्मचारीलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।नयाँ रेन्ज रोभर इलेक्ट्रिकको उत्पादनलाई सहयोग गर्न ब्याट्री तथा इलेक्ट्रिक ड्राइभ युनिट उत्पादन गर्ने नयाँ लाइनसमेत स्थापना गरिएको छ। वोल्भरह्याम्पटनस्थित जेएलआरको इलेक्ट्रिक प्रोपल्सन म्यानुफ्याक्चरिङ सेन्टरमा अहिले आन्तरिक दहन इन्जिनसँगै ब्याट्री प्याक र इलेक्ट्रिक ड्राइभ युनिट उत्पादन भइरहेको छ ।नयाँ मोडललाई रेन्ज रोभरका प्रबन्ध निर्देशक मार्टिन लिम्पर्टले एक दशक लामो ‘सोचविचारसहितको इन्जिनियरिङ’को परिणाम भनेका छन् । पछिल्लो समय नाफा घटिरहेको, आपूर्ति शृंखलामा अवरोध र पुनर्संरचनाको सामना गरिरहेको समयमा जेएलआरले रेन्ज रोभर इलेक्ट्रिक लञ्च गरेको छ ।







