कोशी प्रदेशसभा बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बाढीका कारण जलविद्युत् आयोजनामा फसेका कर्मचारीहरूको उद्धारमा भइरहेको ढिलाइप्रति सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् । बैठकमा सांसद गोपाल तामाङले जलविद्युत् आयोजनाको टनेलभित्र सयौँ कर्मचारीहरू फसेका बताए । उनले झापा मेचीनगरका ४३ वर्षीय दीपक खरेललगायत ५७३ जनाभन्दा बढी कर्मचारी टनेलमा फसेको बताउँदै धेरै नागरिक जोखिममा रहेको बताए । उनले एकै घरमा २४ वटा लास भेटिएको हृदयविदारक घटनाले स्तब्ध बनाएको बताए ।सांसद मीना श्रेष्ठले बाढी आएको ६ दिन बितिसक्दा पनि उद्धार कार्य प्रभावकारी नभएको भन्दै आक्रोश व्यक्त गरिन् । ‘६ दिनसम्म उद्धारका लागि तयार रहेका विदेशी टोलीलाई संघीय सरकारले किन रोक्यो ?,’ उनले प्रश्न गरिन् । समयमै निर्णय लिन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको र यसको जिम्मेवारी कसले लिने भन्दै उनले सरकारसँग जवाफ माग गरिन् ।त्यसैगरी, सांसद शिला दीक्षित कार्कीले भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढीलाई केवल एउटा घटनाको रूपमा नलिन आग्रह गरिन् । उनले कोशी प्रदेशका अरुण, तमोर र दूधकोशी बेसिनमा रहेका जोखिमयुक्त हिमतालहरूको नियमित वैज्ञानिक अनुगमन गर्न र तिब्बत सरकारसँग समन्वय गरेर पूर्वसूचना प्रणाली जडान गर्न सरकारलाई सुझाव दिइन् ।
सांसद जयप्रकाश चौधरीले भने बाढी प्रभावितका साथै ग्रामथान जस्ता ऐतिहासिक क्षेत्रको संरक्षण र अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए । पूर्वमुख्यमन्त्री समेत रहेका सांसद केदार कार्कीले हात्ती प्रभावित क्षेत्रका बासिन्दाका लागि ल्याइएको बीमा कार्यक्रमबारे जानकारी दिए ।
उनले १७१५ रुपैयाँको प्रिमियममा मृत्यु वा अंगभंग भएमा १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको बताउँदै वन्यजन्तु र मानवबिच द्वन्द्व न्यूनीकरणमा जोड दिए । बैठकमा सांसदहरूले बाढी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वास्थ्य उपचार र लत्ताकपडा जस्ता राहत सामग्री उपलब्ध गराउन र बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।
यस्तै प्रदेशसभामा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद गोपालबहादुर विश्वकर्मा र नेपाली कम्युनिस्ट पार्टी दलका उपनेता बाबुराम गौतमले बाढी पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।







