कोशी प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अमृत अर्यालले प्रदेश सरकारले चार वर्षमा देखाउने कुनै काम गर्न नसकेको बताएका छन् । प्रदेशसभाको बैठकमा काँग्रेसका तर्फबाट विशेष समय लिएर बोल्दै उनले प्रदेशले विकासका ठोस आधारहरू खडा गर्न नसकेको टिप्पणी गरे ।
‘पाँच वर्ष प्रदेशमा बस्यौँ, तर भोलि जनताका बीचमा जाँदा हामीले गरेका पाँच वटा मुख्य काम के–के हुन् भनेर सोध्यौँ भने गर्वका साथ देखाउने एउटै आयोजना छैन,’ उनले भने । उनले मुख्यमन्त्रीको सचिवालयमा फोन गरेर पाँच वटा गौरवका योजनाको सूची माग्दा एउटै पनि चित्तबुझ्दो उत्तर नआएको बताए । ‘एउटा कोशी टप्पुको योजना छ भनियो, त्यो पनि पूरा भएको छैन । कृषि ऋण अनुदान र एउटा रिफ्रेसमेन्ट सेन्टर भनेर जवाफ आयो । त्यो पनि सकिएको छैन । अरू देखाउने केही छैन,’ उनले भने । सांसद अर्यालले आफ्नै दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको अभिव्यक्तिप्रति असहमति जनाए । नेता थापाले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहने र सँगै मिलेर अघि बढ्ने बताएका थिए । अर्यालले भने सरकारलाई पूर्ण समर्थन गर्न नसकिने भन्दै गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए । ‘हाम्रो दलका नेताले सरकारलाई पूर्ण सहयोग गर्छौँ भन्नुभयो, तर मलाई त्यो कुरामा चित्त बुझेको छैन । हामीले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्छ,’ अर्यालले भने, ‘सबै कुरामा आँखा चिम्लेर समर्थन गर्ने होइन । सरकारले गरेका नराम्रा काम र भ्रष्टाचारका विरुद्ध औँला ठड्याउनै पर्छ । सँगै मर्ने, सँगै बाँच्ने र सँगै स्वर्ग जाने भनेर कसम खाएर आएका त मिल्दैनन् । हामीले पूर्ण समर्थन गर्न सक्दैनौँ ।’अर्यालले प्रदेशको राजनीतिमा परम्परागत शक्तिहरू कमजोर बन्दै गएको र नयाँ शक्तिहरूको उदय भइरहेको तर्फ पनि सदनको ध्यानाकर्षण गराए । जेनजी आन्दोलन र त्यसका कारण निर्वाचनमा स्थापित भएका नयाँ दलहरूले पुराना दलहरूलाई चुनौती दिएको उनको विश्लेषण थियो । ‘छ महिना अघि जन्मेको दल आज कोशी प्रदेशमा दोस्रो शक्ति बनेको छ, चार वर्ष अघिको दल पहिलो बनेको छ । हामी कांग्रेस, एमाले, नेकपाजस्ता पुराना दलहरू किन पछि पर्दैछौँ ? यसमा गम्भीर आत्मसमीक्षा जरुरी छ,’ उनले भने । जनताका साझा समस्यालाई सम्बोधन गर्न नसक्दा र पहिचानका मुद्दालाई नजरअन्दाज गर्दा यो अवस्था आएको उनको तर्क थियो ।
प्रदेशका मन्त्रालयहरू अझै पनि भाडाका घरमा बस्नुपर्ने र आफ्नै स्थायी संरचना बनाउन नसक्नु लज्जास्पद भएको अर्यालले बताए । ‘हामी प्रदेशको राजधानीको विकासका कुरा गर्छौँ, तर मन्त्रालयहरू भाडामा छन् । सरकारी अफिसहरू कब्जा गरेर बसेका छौँ । आफ्नै भवन बनाउँदा भ्रष्टाचारको आरोप लाग्छ भनेर डराएर कतिन्जेल बस्ने ?,’ उनले प्रश्न गरे । आँट गरेर प्रदेशको आफ्नै संरचना निर्माण गर्न र विकासलाई गति दिन उनले सरकारलाई आग्रह गरे ।
भोटेकोशी बाढीका कारण बेपत्ता भएका कोशी प्रदेशका १५७ परिवारको खोजी र उद्धारमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । ‘बेपत्ता भएकाहरूको प्रदेश सरकारको तर्फबाट पनि खोजी कार्य थालियोस् र उनीहरूको परिवारसँग सम्पर्क गरेर राहत र पुनःस्थापनाको जिम्मा प्रदेश सरकारले लेओस्,’ उनले भने ।
सांसद अर्यालले आगामी बजेटलाई क्रान्तिकारी बनाउन र सबै दलको साझा सहमतिको आधारमा प्रदेशको विकासको मार्गचित्र कोर्न आग्रह गरे । व्यक्तिगत स्वार्थ र आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्तिले प्रदेशलाई बलियो नबनाउने भन्दै उनले सामूहिक सोचका साथ अघि बढ्न सरकार र सदनलाई अपिल गरे ।







