रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ । गोसाइँकुण्ड जाने क्रममा एउटै बसमा रहेका २६ जनामध्ये नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १० जनाको शव पहिचान भएको हो ।
नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल, रामचन्द्र खनाल तथा नीलकण्ठ–९ की गायत्री लम्सालको शव पहिचान भएको छ ।
गायत्री लम्सालको शव पहिचानपछि सोमबार धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ । अन्य पाँच जनाको शव बुधबार काठमाडौंस्थित शिक्षण अस्पतालमा पहिचान भएपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी रहेको अस्पतालबाट हाम्रा सहकर्मी मनिष दुवाडीले जानकारी दिएका छन् ।
त्यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका सिद्धलेकका हरिप्रसाद सिलवाल, विन्दादेवी सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टको शव पनि शिक्षण अस्पतालबाट पहिचान भएको छ । पारिवारिक स्रोतका अनुसार हरिप्रसाद र विन्दादेवी सिलवालको शव बुधबारै च्याडुदोभानमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ । घनश्याम र कल्पना भट्टको भने काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
पाँच स्थानमा सडक भासियो
बाढीका कारण राजधानी जोड्ने नागढुंगा–मुग्लिन सडकखण्डमा समेत ठूलो क्षति पुगेको छ । त्रिशूली नदीको कटानका कारण सडकखण्डका विभिन्न पाँच स्थानमा सडक भासिएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार नागढुंगा चेकपोस्टदेखि करिब ७०० मिटर तल पातलेबनमा सडक भासिएको छ । उक्त स्थानमा मोटरसाइकल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ भने अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ ।
मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतलबजारमा करिब ५० मिटर, मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौंंतर्फ पर्ने परेवाभीरमा करिब १०० मिटर र चालीसेनजिक करिब ४० मिटर सडक भासिएको आयोजनाले जनाएको छ ।
सडकखण्डमा सबैभन्दा ठूलो क्षति कृष्णभीरमा भएको छ । मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौंंतर्फ पर्ने कृष्णभिरमा करिब २०० मिटर सडक भासिएको छ । सडकको माथिल्लो भागको डाँडासमेत चिरिएको आयोजनाले जनाएको छ ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । थप क्षति हुन नदिन प्राविधिक अध्ययन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको उनले बताइन् ।
इन्जिनियर मानन्धरका अनुसार त्रिशूली नदीले कृष्णभीरलगायतका स्थानमा सडकको फेद कटान गरिरहेको छ । गेग्रानसहित आएको बाढीले नदी किनारमा लगाइएको रिटेनिङ वालसमेत बगाएको छ ।‘ठूलो बाढीले नदीको धार परिवर्तन गर्दा सडकका विभिन्न भागमा क्षति पुगेको हो । अहिले पनि पानीको बहावले सडकको फेदमा कटान गरिरहेको छ,’ मानन्धरले भने । नदीको बहाव र सतहमा उतारचढाव भइरहेकाले कमजोर भूभागमा थप कटानको जोखिम रहेको आयोजनाले जनाएको छ । क्षतिग्रस्तमध्ये सीतलबजारमा सडकको भित्तो काटेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । परेवाभीरमा भने सडकको नदीतर्फको ठूलो भाग भासिएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
कृष्णभिरमा तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएपछि आयोजनाले वैकल्पिक मार्गको खोजी थालेको जनाएको छ । गोरखा क्षेत्रबाट राजधानी जोड्ने सम्भावित वैकल्पिक सडक पहिचान गरी आवश्यक मर्मतसम्भारपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
राजधानी जोड्ने प्रमुख सडकका रूपमा रहेको यस खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्दै आएका थिए । सडकमा क्षति पुगेपछि यात्रु आवागमनसँगै ढुवानी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।
समाचार प्रभाव : १०२ एम्बुलेन्स सेवा पुनः सञ्चालन
यसैबीच आपतकालीन एम्बुलेन्स सेवाका लागि प्रयोग हुने १०२ नम्बर पुनः सञ्चालनमा आएको छ ।१०२ नम्बर लामो समयदेखि सञ्चालनमा नरहेको विषयमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको पहलमा सेवा पुनः सञ्चालनमा आएको हो ।
नेपाल टेलिकमलगायतका सञ्चार सेवामा समस्या हुँदा आपतकालीन अवस्थामा सहयोग माग्न कठिन भइरहेको तथा बिरामी र घाइतेलाई अस्पताल पुर्याउनुपर्ने अवस्थामा १०२ नम्बरमा सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका थिए ।







