इरानसँग बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलघाँटी)को नाम परिवर्तन गर्न सुझाव दिएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि ? अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ।’
बुधबार साउदी अरबको एक शिपिङ कम्पनीले होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका दुई नाविक मारिएको जानकारी दिएको थियो।
ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान होर्मुज स्ट्रेटमा अज्ञात विमानले दुई तेल ट्यांकरलाई निशाना बनाएका थिए।
यसैबीच, बीबीसी फारसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँग कुरा गर्दै इरानबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।
उनले संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो उपाय इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन नदिनु रहेको बताएका छन्।
उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई ‘नयाँ रणनीति’ सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
उनले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीका क्षेत्रमा इरानको नयाँ रणनीतिले अमेरिकाको आधार नै ध्वस्त पार्ने दाबी गरेका छन्।
मंगलबार राति अमेरिकी सेनाले इरानको पश्चिम, दक्षिणपश्चिम र दक्षिणका प्रान्त तथा तटीय क्षेत्र र होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रमा आक्रमण गरेको बताइएको छ।
इरानी अधिकारीहरूका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको एक आक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आक्रमणलाई ‘युद्ध अपराध’ भनेका छन्।







