काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ। यस विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

सभापति गगन थापाले दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने तयारी गरिएको हो।

यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको थियो। तर बाढी, सडक अवरोध, पार्टीभित्र भइरहेको आन्तरिक छलफल तथा हरितालिका तीजका कारण वडा अधिवेशन एक साता पछि सार्न लागिएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टीका नेता–कार्यकर्तालाई उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी र त्यसपछिको वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएकाले अधिवेशनका लागि आवतजावतमा समेत समस्या देखिएको बताइएको छ।

यसैबीच महाधिवेशनलाई सहमतिमा सम्पन्न गर्ने प्रयासस्वरूप कांग्रेसभित्र आन्तरिक छलफलसमेत चलिरहेको छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको जनाइएको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ। यद्यपि, महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर पार्टीभित्र अर्को पक्षले मंसिरमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ। अदालतमा पुनरावलोकनको मुद्दासमेत विचाराधीन रहेको अवस्थामा महाधिवेशनको मिति थप पर सार्ने सम्भावनाबारे पनि कांग्रेसभित्र छलफल भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय