काठमाडौं ।  नेपाल–तिब्बत सीमामा हालै आएको विनाशकारी बाढी पहिरोमा अहिलेसम्म मर्नेको सङ्ख्या १ हजार ३ सय ७५ माथि उक्लिएको छ । यो प्राकृतिक विपद्ले सयौँ घरपरिवारको बिल्लीबाठ पारेको छ । सोही बाढीमा परेर केरुङ नाकामा भर्खरै जागिर सुरु गरेकी एक चिनियाँ भन्सार अधिकृतको मृत्यु भएको छ ।

२४ वर्षीया ली लेयाङले अगस्ट २१ मा तिब्बतको केरुङ बन्दरगाहस्थित भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन् । काम थालेको चार दिन मात्रै पूरा भएको थियो । अगस्ट २६ मा आएको विनाशकारी पहिरो र बाढीमा परेर उनको ज्यान गयो ।

नेपालतर्फ हिमनदी भत्किएपछि आएको पहिरो र बाढी केही मिनेटमै सीमावर्ती क्षेत्रमा फैलिएको थियो । घटनाका कारण केरुङ बन्दरगाह क्षेत्रका सडक, भवन तथा अन्य संरचनामा ठुलो क्षति पुगेको थियो । भन्सार कार्यालय रहेको भवन पनि पहिरोको चपेटामा परेको थियो । घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा भन्सार भवनको अधिकांश संरचना ध्वस्त भएको र केही फलामे संरचना मात्र बाँकी रहेको देखिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बत क्षेत्रमा पहिरो र बाढीका कारण हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने सयौँ मानिस अझै बेपत्ता भएका छन् । केरुङ बन्दरगाह आसपासको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।

उद्धार तथा खोजी कार्य अझै जारी छ । लीको मृत्युको खबर सार्वजनिक भएपछि उनको व्यक्तिगत सङ्घर्ष र छोटो सरकारी सेवाको कथा चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ ।

ग्रामीण परिवारमा जन्मिएकी लीले आफ्नो पढाइलाई अघि बढाउन लामो सङ्घर्ष गरेकी थिइन् । उनले सुरुमा आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री हासिल गरेकी थिइन् । त्यसपछि आफ्नो शैक्षिक योग्यता थप बलियो बनाउन आन्हुई कृषि विश्वविद्यालयमा भर्ना भएर स्नातक तह पूरा गरिन् ।

त्यसपछि उनले बेइजिङस्थित प्रतिष्ठित चाइना एग्रिकल्चरल युनिभर्सिटीको स्नातकोत्तर प्रवेश परीक्षा उत्तीर्ण गरिन् । केही महिनाअघि मात्र स्रोत उपयोग तथा वनस्पति संरक्षणसम्बन्धी विषयमा उनले स्नातकोत्तर तह पूरा गरेकी थिइन् ।

भन्सार सेवामा प्रवेश गर्न उनले अत्यन्त प्रतिस्पर्धात्मक सरकारी सेवाको परीक्षा दिएकी थिइन् । करिब २ हजार जना उम्मेदवार सहभागी भएको परीक्षामा उनी पहिलो स्थानमा परेकी थिइन् । त्यसपछि मात्र उनले सरकारी जागिर पाएकी थिइन् ।

केरुङ भन्सार कार्यालयले नयाँ कर्मचारी परिचय गराउने क्रममा लीलाई मेहनती, साहसी र भावनात्मक रूपमा स्थिर स्वभावकी युवतीका रूपमा प्रस्तुत गरेको थियो । उनलाई फूल रोप्न, किताब पढ्न तथा बिरालो र कुकुरसँग खेल्न मन पर्ने बताइएको थियो ।

नयाँ जिम्मेवारी सम्हाल्दै लीले आफूले सीमामा जैविक सुरक्षाको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् । तर उनको त्यो नयाँ यात्रा चार दिनमै टुङ्गियो । लीकी बहिनीले सामाजिक सञ्जालमा दिदीसँग जोडिएको एउटा भावुक सम्झना सार्वजनिक गरेपछि उनको कथा झन् चर्चामा आएको हो ।

उनका अनुसार लीले अर्को वर्षको वसन्त चाडको बिदामा आफ्ना आमा बुबालाई बेइजिङ घुमाउन लैजाने योजना बनाएकी थिइन् । बहिनीले दिदीको मृत्युबारे लेख्दै जागिर पाउन निकै कठिन सङ्घर्ष गरेकी लीले चार दिन मात्र काम गर्न पाएको र उनको पहिलो तलब नै पेन्सनमा परिणत भएको भाव व्यक्त गरेकी छन् ।

लीको सङ्घर्ष र असामयिक मृत्युबारे चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया आएका छन् । धेरैले उनको मेहनत, सपना र परिवार प्रतिको जिम्मेवारी सम्झिँदै दुःख व्यक्त गरिरहेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको जीवन परीक्षाको तयारी र सङ्घर्षमै बितेको उल्लेख गर्दै उनले जीवनको खुसी अनुभव गर्न नपाउँदै चार दिनमै संसार छाड्नुपरेको भन्दै दुःख व्यक्त गरेका छन् । अर्का प्रयोगकर्ताले उनको नियतिलाई अत्यन्त कठोर भन्दै श्रद्धाञ्जली दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय