काठमाडौं । चीनको कैलाश मानसरोवर गएका करिब २ हजार ५ सय नेपाली तथा विदेशी नागरिक नेपाल फर्किएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण चीनतर्फ रोकिएका उनीहरू हिल्सा र तातोपानी नाका हुँदै नेपाल फर्किएका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विपद्का बेला कैलाश मानसरोवर जाने तथा फर्किने करिब ३ हजार जनामध्ये २ हजार ५ सय जना स्थलमार्गबाट नेपाल फर्किसकेका छन्।
बाँकी रहेका नागरिकलाई पनि नेपाल फर्काउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। केही भने ल्हासाबाट हवाई मार्ग हुँदै फर्किने तयारीमा छन्।
चीन सरकारले नेपाल–चीनका अन्य सीमा नाका हुँदै नेपाली तथा विदेशी नागरिकलाई स्वदेश फर्किन समेत सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।







