काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले समितिको बैठकमा यस्तो बताएका हुन् ।
भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चिनीको मूल्य अत्यधिक बढेको भन्दै समितिमा प्रश्न उठेको उनले बताए ।
संसदीय समितिमा चिनीको मूल्य प्रतिकिलो १३० सम्म कसरी पुग्यो भन्ने प्रश्न पनि उठ्यो ।
पहिले ८५ मा भ्याट जोडेर ९६ सम्म पर्ने भनिएको चिनीको मूल्य अहिले बजारमा १०५ देखि १३० सम्म पुगेको भन्दै सभिापति अन्सारीले मौज्दात हुँदाहुँदै मूल्य बढ्नुको कारण खोज्नुपर्नेमा जोड दिए ।
बैठकमा अन्य मुलुकबाट समयमै चिनी आयात नगर्दा अहिलेको अभाव र मूल्यवृद्धिको अवस्था सिर्जना भएको सभापतिको विश्लेषण छ ।
साथै, उपभोक्ता हित, कार्टेलिङ र कालो बजारी नियन्त्रणका लागि आवश्यक विधेयक तथा कानुन यथाशीघ्र संसद्मा पेश गर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।
बजार अनुगमनलाई व्यावहारिक र तर्कपूर्ण बनाउनुपर्ने, महँगो सफ्टवेयर खरिदमा हुने अपारदर्शिता रोक्नुपर्ने तथा पूर्वाधार क्षतिले गर्दा बढेको ढुवानी लागत र इन्धन आपूर्ति जस्ता व्यावहारिक समस्याहरूलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने सभापतिले बताएका छन् ।






