काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ ।
नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन् ।
फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अपरान्ह ४ बजे सुरु हुनेछ ।
अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई हराएर फाइनल पुगेको हो ।
लिग चरणमा अन्नपूर्ण र कर्णालीबीच पहिलो खेलमै भेट हुँदा कर्णालीले ३-१ ले खेल जितेको थियो । त्यसपछि भने अन्नपूर्णले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
फाइनलमा अन्नपूर्णलाई कर्णाली विरुद्ध बदला लिँदै एनभीएलको ऐतिहासिक उपाधि जित्ने अवसर छ । कर्णाली भने पहिलो खेलमा अन्नपूर्णलाई पराजित गरेकोले त्यही लय दोहोर्याउने लक्ष्यमा हुनेछ ।
६ टोली सहभागि लिगमा सिंगल राउण्ड रोविनका आधारमा खेलहरु भएका थिए । जहाँ अन्नपूर्णले ५ मध्ये ४ खेल जितेर १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । कुनै पनि खेल पाँचौ सेटसम्म नखेलेको कारण अन्नपूर्णले ४ जितबाट १२ अंक जोडेको थियो । अन्नपूर्णले लिगको पहिलो खेलमै कर्णाली विरुद्ध हार बेहोरेको थियो । तर त्यसपछि भने काठमाडौं रेड्स, मधेश वारियर्स, अप्तड फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई हराएर फाइनल यात्रा तय गरेको हो ।
कर्णाली र काठमाडौंले पनि लिग चरणमा समान ४ खेल नै खेलेका थिए । तर कर्णालीले एउटा खेल ५ सेटमा पुगेर जितेकोले ११ अंक जोडेर दोस्रो स्थानमा रह्यो भने भने काठमाडौंले २ खेल ५ सेटमा पुगेर जित्दा १० अंकसहित तेस्रो स्थानमा रहेको थियो ।
कर्णाली लिग चरणमा काठमाडौं रेड्स विरुद्ध मात्र पराजित भएको थियो । तर प्लेअफमा काठमाडौं विरुद्ध बदला लिँदै कर्णाली फाइनल पुगेको हो ।
एनभीएलको विजेताले ट्रफी र २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।







