फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ । अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन् ।

बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो । आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ ।समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए । शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो । फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए ।“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ । त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उनले पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन् । जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन् ।

कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जना उद्धार भएका छन् भने ५४ जना अझै बेपत्ता छन् । आगलागीपछि तत्कालै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शवका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ ।

केही सेकेन्डमै फैलियो आगो

कोस्ट गार्डकी प्रवक्ता कयाबयाबले शुक्रबार रेडियोसँग कुरा गर्दै आगो जहाजको कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको बताए ।

“ठूलो विस्फोटको आवाज सुनेदेखि धुवाँ देखिन थालेको र त्यसपछि आगो लागेको थियो। आगो निकै छिटो फैलियो,” उनले भने ।

उनका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएनन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय