गायक प्रकाश दूतराजले नेपाली लोकसंगीतको पहिलो सांगीतिक समूह ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गरेका छन् । संगीतका अन्य विधामा ब्याण्ड गठन गर्ने प्रवृत्ति भएपनि लोकसंगीत क्षेत्रमा भने यो पहिलो हो ।

शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आयोजित समारोहमा ब्याण्डको औपचारिक घोषणा मात्र गरिएन्, ब्याण्डले पहिलो सांगीतिक प्रस्तुति दियो । म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त समारोहमा दर्शकले झरीको पर्वाह नगरि घण्टौंसम्म दूतराजका प्रस्तुतिमा रमाइलो गरे ।

दूतराजलाई ब्याण्डका अन्य सदस्यले प्रस्तुतिमा साथ दिए । विगतमा ट्रयाकमा गाउँदै आएका उनले वाद्यवादनको लाइभ शोमार्फत दर्शकलाई सांगीतिक स्वादहरू चखाए ।

मंगला गाउँपालिका-५ अर्मनमा जन्मिएका र बेनीमा किशोरावस्था बिताएका दूतराज नेपाली लोकसंगीत क्षेत्रमा पछिल्लो छिमलका स्टार हुन् ।

‘यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो’ उनले भने, ‘विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शक माझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरु गरेको छु ।’

नेपालको मौलिक बाजालाई संसारभर प्रवर्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउँदै उनले भने, ‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकोमा खुसी र उत्साही छु । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्ने मेरो उद्देश्य हो ।’

यो ब्याण्डमा वाद्यवादन र प्राविधिकसहित १२ जना सदस्य छन् । दूतराज लिड भोकलिस्ट हुन् । यसपछि ब्याण्डले मुलुकका विभिन्न थलोमा टूर गर्ने जनाएको छ । त्यसअघि दूतराजले यसअघि नै प्रतिबद्धता जनाइसकेका दुई अन्तर्राष्ट्रिय टूर एक्लै समापन गर्नुपर्नेछ ।

बेनीको कन्सर्टमा दूतराजले मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना झ्यालैमा लगायतका हिट गीतलाई मौलिक बाजाको लाइभ स्वादमा प्रस्तुत गरे ।

यसअघि भदौ १२ गते जनैपूर्णिमा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम भोटेकोशी बाढीका कारण स्थगित भएको थियो । आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भोटेकोशी बाढीमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको बताए ।

‘संघले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौं’ उनले भने, ‘विपन्न समुदायका प्रकाशको संघर्ष र मेहनत प्रेरणादायी छ ।’

दूतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि छिमेकी जिल्ला बागलुङ र पर्वतबाट दर्शक पुगेका थिए । प्रस्तुतिअघि संघर्षका दिन र साथ दिनेलाई सम्झिएका प्रकाशले आगामी सांगीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गरे ।

कार्यक्रममा म्याग्देली बालकलाकार क्रियसन रोकामगरलाई सम्मान गरिएको थियो । क्रिएसन हालै सम्पन्न टिभी रियालिटी शो ‘भ्वाइस किड्स’का फाइनलिस्ट हुन् भने उनले पनि प्रस्तुति दिएर माहोल तताएका थिए ।

कार्यक्रममा भोटेकोशी बाढीमा ज्यान गुमाउने र पर्वतारोही निर्मल पूर्जाको निधनमा शोक व्यक्त गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय