भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा विभिन्न देशका नेताबिच द्विपक्षीय भेटवार्ता तीव्र भएको छ । यसैबिच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् । भारत–इरान द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री मोदीले इथियोपियाका प्रधानमन्त्री अबी अहमद र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटका क्रममा व्यापार, लगानी, प्रविधि र रक्षा सहकार्यबारे छलफल भएको छ ।इथियोपिया र मलेसियाले भारतसँग रक्षा सहकार्य विस्तार गर्नुका साथै भारतीय रक्षा उपकरण तथा हतियार खरिदमा रुचि देखाएका छन् । दुवै देशका सैन्य अधिकारीको संयुक्त तालिम र क्षमता विकासका विषयमा समेत छलफल भएको भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै अमर उजालाले जनाएको छ ।मलेसियासँग सेमिकन्डक्टर क्षेत्रमा सहकार्य र लगानीका सम्भावनाबारे पनि छलफल भएको छ भने इथियोपियाले भारतीय खानी कम्पनीका लागि लगानीका अवसर स्वागत गरेको जनाएको छ ।
यसैगरी, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भारतीय उद्योगपति गौतम अदाणीसँग भेटवार्ता गरेका छन् । भेटमा भारत–दक्षिण अफ्रिका व्यापार तथा लगानी सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आजै नयाँ दिल्ली पुगेका छन् । सात वर्षपछि भारत आएका सीले सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा दुई देशबिचको सीमा विवाद, सम्बन्ध सुधार तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।





