न्युयोर्क सहरस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाल्यकालको घर मर्मतसम्भारपछि करिब २० लाख अमेरिकी डलरमा बिक्री भएको छ। लामो समय खाली रहँदा पाइप फुटेर पानीले बिग्रिएको, ढुसी परेको र छाडा बिरालाहरूको बासस्थान बनेको उक्त घरलाई आधुनिक आवासमा रूपान्तरण गरेर बिक्री गरिएको हो।

ट्रम्प चार वर्षको उमेरसम्म न्युयोर्कको क्विन्सस्थित ‘ट्युडर’ शैलीको यसै घरमा बसेका थिए। उनका बुबा तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा प्रतिष्ठित ‘जमैका एस्टेट्स’ क्षेत्रमा यो घर निर्माण गरेका हुन्। यद्यपि, यो घर लामो समयदेखि ट्रम्प परिवारको स्वामित्वमा थिएन।

गत जुलाईमा एक नाम नखुलेका खरिदकर्तासँग सम्झौता भएपछि घरजग्गासम्बन्धी वेबसाइटहरूमा यसको अन्तिम बिक्री मूल्य १९ लाख ३० हजार डलर कायम भएको विवरण सार्वजनिक भएको छ।

घरका विक्रेता एवम् डेभलपर टोमी लिनले ५ शयनकक्ष र ३ स्नानकक्ष भएको यो घर गत वर्ष ८ लाख ३५ हजार डलरमा खरिद गरेका थिए। ‘न्युयोर्क पोस्ट’का अनुसार, लिनले ८ महिनाको अवधिमा थप ५ लाख डलर खर्च गरेर घरको भित्री भागलाई पूर्ण रूपमा आधुनिक रूप दिएका हुन्। यस क्रममा व्यावसायिक स्तरको भान्सा ‘हेरिङबोन’ शैलीको काठको भुइँ र स्पा-सुविधायुक्त स्नानकक्षहरू थपिएका थिए।

घरजग्गासम्बन्धी प्लेटफर्म ‘जिलो’ का अनुसार, हालैका वर्षहरूमा यो घर धेरै पटक किनबेच भइसकेको छ। सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेको केही महिनापछि नै यो २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो।

त्यतिबेला ‘ट्रम्प बर्थ होम एलएलसी’ नामक संस्थाले किनेको यो घरलाई केही समय ‘एयरबिएनबी’ मार्फत भाडामा समेत राखिएको थियो। त्यहाँ ट्रम्पको वास्तविक आकारको कार्डबोर्ड कटआउट, उनको चर्चित पुस्तक ‘द आर्ट अफ द डिल’का प्रतिहरू र ट्रम्पको तस्बिरसहितको ‘पिपुल्स’ म्यागजिनको फ्रेम गरिएको कभर सजाइएको थियो।

सन् २०१९ मा यसलाई २९ लाख डलर मूल्याङ्कन गरेर बिक्रीमा राखिए पनि लामो समयसम्म ग्राहक नपाएपछि अन्ततः डेभलपर लिनले खरिद गरेर जीर्णोद्धार गराएका हुन्।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय