काठमाडौँ। नेपालका खर्क तथा चरन क्षेत्रको दिगो व्यवस्थापनका लागि भुटानले अपनाएका नीतिगत तथा संस्थागत अभ्यासबाट सिक्नुपर्ने राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारीले बताएकी छन्।

नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनरुत्थान कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा उनले सो कुरा बताएकी हुन्।

खर्कलाई केवल पशु चराउने खुला भू-भागका रूपमा नभई हिमाली तथा पहाडी अर्थतन्त्र, जैविक विविधता, जलाधार संरक्षण र ग्रामीण समुदायको जीविकोपार्जनसँग जोडिएको महत्त्वपूर्ण प्राकृतिक स्रोतका रूपमा लिनुपर्ने उनले उल्लेख गरिन्। अव्यवस्थित चरन, अतिक्रमण, खण्डीकरण, वन व्यवस्थापनसँगको कमजोर समन्वय, जलवायु परिवर्तन, पानीका स्रोतमा आएको परिवर्तन, हानिकारक वनस्पतिको विस्तार तथा संस्थागत अस्पष्टताका कारण खर्क तथा चरन क्षेत्रको दिगोपनामा चुनौती थपिँदै गएको उनको भनाइ छ।

भुटानले खर्क तथा चरन क्षेत्रलाई नीतिगत र संस्थागत संरचनासँग जोड्दै आएको बताउँदै उनले डिजिटल नक्साङ्कन तथा तथ्याङ्कमा आधारित व्यवस्थापन, वन-समुदाय सुशासनमा चरन स्रोतलाई मूलधारमा ल्याउने प्रयास र स्थानीय तह तथा समुदायको सहभागिताबाट नेपालले सिक्न सक्ने स्पष्ट पारिन्। भण्डारीले भनिन्, ‘भुटानमा अपनाइएको खर्क व्यवस्थापन योजना तथा नियन्त्रित डढेलो प्रयोगसम्बन्धी कार्यविधि पनि नेपालको सन्दर्भमा उपयोगी हुनसक्छ।’

नेपालको खर्क नीति पुनरावलोकन गर्दा खर्क तथा चरन क्षेत्रको स्पष्ट पहिचान, वर्गीकरण र डिजिटल अभिलेखीकरण गर्नुपर्नेमा उनले जोड दिइन्। स्थानीय समुदाय, पशुपालक तथा किसानको अधिकार र सहभागितालाई नीतिको केन्द्रमा राख्दै वन, कृषि, पशुपालन, जैविक विविधता र खर्कसम्बन्धी नीतिबिच समन्वय आवश्यक रहेको उनले बताइन्।

जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का जोखिमलाई खर्क व्यवस्थापनसँग जोड्नुपर्ने र नीति कार्यान्वयनका लागि आवश्यक संस्थागत, वित्तीय तथा प्राविधिक संयन्त्र सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। भण्डारीले थपिन्, ‘नेपाल भौगोलिक तथा जैविक विविधताले सम्पन्न भएकाले सबै क्षेत्रमा एउटै प्रकारको खर्क व्यवस्थापन नीति लागू गर्न सकिँदैन।’ स्थानीय भूगोल, इकोसिस्टम र समुदायको आवश्यकता अनुसार लचिलो तथा क्षेत्रविशेषमा आधारित व्यवस्थापन प्रणाली अवलम्बन गर्नुपर्ने उनले बताइन्।

खर्क तथा चरन क्षेत्रको संरक्षण र पुनरुत्थानलाई स्थानीय समुदायको जीविकोपार्जन, पशुपालन, जैविक विविधता र जलवायु अनुकूलनसँग जोडेर अघि बढाउन सके ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवालाहरूले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय