जर्मनीमा कार्यरत चिकित्सक डा. केट्रिन फ्रान्जले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५ लाख २७ हजार २७ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
डा. फ्रान्जले गोरखा नगरपालिका–१०, छेवेटारस्थित ह्वाइट हाउस क्याफेका सञ्चालक कमल पोखरेलमार्फत उक्त सहयोग रकम पठाएकी हुन्। व्यक्तिगत चिनजानका आधारमा बाढी तथा पहिरो प्रभावितको सहयोगका लागि डा. फ्रान्जले रकम उपलब्ध गराएको पोखरेलले जानकारी दिए।
विदेशमा रहेर पनि विपद्मा परेका नेपाली नागरिकको पीडामा साथ दिने उद्देश्यले डा. फ्रान्जले सहयोग गरेको पोखरेलले बताए।
प्राप्त सहयोग रकम पोखरेलले आफैं वितरण नगरी रोटरी क्लब अफ गोरखामार्फत प्रभावित नागरिकसम्म पुर्याउने व्यवस्था गरेका छन्। सहयोग रकम क्लबलाई हस्तान्तरण गरिसकिएको र क्लबको समन्वयमा प्रभावित परिवार तथा समुदायको आवश्यकता पहिचान गरी राहत तथा पुनःस्थापनाका काममा रकम प्रयोग गरिने पोखरेलले बताए।
‘व्यक्तिगत चिनजानका आधारमा उहाँले सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो। प्राप्त रकम पारदर्शी र प्रभावकारी रूपमा पीडितसम्म पुगोस् भन्ने उद्देश्यले रोटरी क्लब अफ गोरखामार्फत सहयोग गर्ने निर्णय गरेका हौं,’ पोखरेलले भने।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यससँगै गएको पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। विपद्पछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति र विभिन्न संस्थाले सहयोग गर्दै आएका छन्।
जर्मनीबाट व्यक्तिगत सम्बन्धका आधारमा प्राप्त यो सहयोग स्थानीय संस्थामार्फत प्रभावित समुदायसम्म पुर्याउने प्रयास गरिएको पोखरेलले बताए। उनका अनुसार यसले राहत वितरणमा समन्वय र पारदर्शिता कायम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।








