काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।उनले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा आफूले व्यक्त गरेको ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पारे ।‘ओल्ड ब्यागेज’ भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित नभएको उनले बताए ।
उक्त अभिव्यक्तिलाई राज्य र सरकारको निरन्तरता तथा राज्यको विरासतविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने उनको धारणा छ ।
छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने गलत अभ्यास नै विगतको ‘बोझ’ भएको भन्दै उनले त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ रहेको स्पष्ट सन्देश दिन खोजेको बताए ।
बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएको सन्दर्भमा प्रश्न गरेकी थिइन् ।
त्यसको जवाफ दिँदै मन्त्री खनालले वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशामा अघि बढाउन चाहेको स्पष्ट पारे ।








