काठमाडौँ। मंगलबार सरकारले पूँजीबजार सुधारको लागि ल्याएको कार्ययोजनापछि नेप्से परिसूचकमा आएको सुधार एक दिन पनि टिक्न सकेन।
बुधबार नेप्से परिसूचकमा २१.१९ अङ्क घटेर २६१२.४२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अङ्क घटेको छ।तर नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। जसमा ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य ७.७३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।








