काठमाडौँ । ख्यातिप्राप्त रङ्गकर्मी तथा अभिनेता हरिहर शर्मा, गायक सञ्जय श्रेष्ठ र पत्रकार वीरेन्द्र जैरी एकसाथ सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रङ्गकर्मी एवं अभिनेता स्व.हरिप्रसाद रिमालको १०२औँ जन्म जयन्तीमा शुक्रबार आयोजित एक विशेष समारोहमा कला, सङ्गीत र सञ्चार क्षेत्रका व्यक्तित्वलाई एकसाथ सम्मान गरिएको हो ।

राजधानीको मध्य वानेश्वरस्थित रिमालकै निवासमा अर्ध कदको प्रतिमा अनावरण गर्दै सुरु गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल लगायतले लयप्रसाद मैनालीद्वारा निर्मित प्रतिमा अनावरण गरे ।कार्यक्रममा ख्यातिप्राप्त रङ्गकर्मी तथा अभिनेता हरिहर शर्मालाई नगद ५१ हजार १ रुपैयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत सम्मान पुरस्कार, पत्रकार वीरेन्द्र जैरीलाई ३१ हजार १ रुपियाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्य सञ्चार सेवा सम्मान पुरस्कार र गायक तथा सङ्गीतकार सञ्जय श्रेष्ठलाई ३१ हजार १ रुपैयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत विशेष सम्मान पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा गायक जे पापीले रिमालको लोकप्रिय गीत न त सम्झिनु न त बिर्सनु, घनश्याम गौतमले बिना बादल असिना पर्दैन र कपिल लोहनीले फगत एक नजरमा बोलका रिमालद्वारा गाइएका लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट् सापकोटाले रिमाललाई उनका तीनै विधा कला, साहित्य र सङ्गीतबाट जीवित राख्न प्रतिष्ठानले यी तीनै विधामा काम गरिरहेको जानकारी गराए । सापकोटाले रिमाल निवासमै रङ्गमञ्च तथा नमोबुद्धमा फिल्म स्टुडियो निर्माण गर्ने जानकारी गराउँदै विगतमा नाट्य महोत्सव र लघु फिल्म प्रतियोगिता आयोजना गरेको अबको गीतमा सङ्गीत महोत्सव गर्ने जानकारी गराए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनालले नेपाली हिन्दुको महान् पर्व दसैँ आउनु पूर्व यो कार्यक्रम नै कला क्षेत्रको लागि अर्को ठुलो दसैँ भएको चर्चा गरे । कार्यक्रममा सभापति प्राडा‍.वासुदेव त्रिपाठीले रिमालको प्रतिमा स्थापनाले उनी फेरि फर्केको अनुभूति भएको बताए ।

रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् । रेडियो नेपाल स्थापना भएपछि सन् १९५०/५१ तिर शङ्कर लामिछानेको रचनामा रहेको ‘दिल टुक्रा भएर आँखाको बाटो बगेछ’ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका पहिलो गायक बनेका थिए । रेडियो नाटकको विकासमा समेत उनको महत्त्वपूर्ण योगदान रहेकाले उनलाई नेपाली रेडियो नाटकका पिता भनेर समेत चिनिन्छ ।

करिब सात दशक लामो नेपाली रङ्गमञ्च, रेडियो, सङ्गीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए । नेपाली रङ्गमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका कलाकारका रूपमा उनको योगदानलाई महत्त्वपूर्ण मानिन्छ । वि.सं.१९८२ असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय