१४ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा अखिल (क्रान्तिकारी) पब्लिक युथ क्याम्पसले मसाल जुलुस प्रदर्शन गरेको छ। विरोध कार्यक्रम अन्तर्गत साँझपख क्याम्पसबाट सुरु भएको मसाल जुलुसमा सयौं विद्यार्थीहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले ‘जनविरोधी निर्णय खारेज गर’, ‘कुलमान घिसिङलाई पुनर्बहाली गर’ जस्ता नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका थिए।
विरोध प्रदर्शनका क्रममा अखिल (क्रान्तिकारी) पब्लिक युथ क्याम्पसका संयोजक रोशन, केन्द्रीय सचिव गौरव, र क्याम्पस जिल्लाका अध्यक्ष प्रदीप भण्डारीले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा रोशनले सरकारको निर्णय जनताको हित विपरीत रहेको भन्दै घिसिङलाई पुनर्बहाली नगरे थप संघर्ष चर्काउने चेतावनी दिए। केन्द्रीय सचिव गौरवले बिजुली व्यवस्थापनमा सुधार ल्याएका घिसिङलाई राजनीतिक कारणले हटाइएको आरोप लगाए भने अध्यक्ष प्रदीप भण्डारीले सरकार जनताको चाहनाविपरीत निर्णय लिइरहेको भन्दै आगामी दिनमा थप संघर्षको कार्यक्रम ल्याइने घोषणा गरे।
विरोध प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका थिए। उनीहरूले सरकार जनताको पक्षमा नरहेको, राजनीतिक स्वार्थका लागि निर्णय लिइएको आरोप लगाएका थिए। उनीहरूको भनाइ अनुसार सरकारको गलत निर्णयको विरोधमा अझ कडा संघर्ष गरिनेछ।
सार्वजनिक रूपमा पनि यो निर्णयको आलोचना भइरहेको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले कुलमान घिसिङको नेतृत्वमा देशभर लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै सरकारले जनताको चाहना विपरीत काम गरेको टिप्पणी गरे। उनीहरूले सरकारलाई गलत निर्णय सच्याउन आग्रह गरेका छन्। अखिल (क्रान्तिकारी)ले आगामी दिनमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।