काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरूको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि नदेखाएको बताए ।
अध्यक्ष नेपालले सरकारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताए । उनले सरकार परिणाम विहीन मात्र नभई उद्देश्य बहिन हुन पुगेको जिकिर गरे ।
सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरू मिलेसम्म कुनै विकल्प नहुने बताए । अध्यक्ष नेपालले सरकार गतिहीन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।






