काठमाडौं । गोरखा जिल्लाको सामागाउँमा मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्यटक तथा वन पैदावर चेकपोस्ट पुनः सञ्चालनमा ल्याइएको छ ।
६९औं मनास्लु आरोहण दिवसको अवसर पारेर सम्पन्न विशेष कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको प्रमुख आतिथ्यतामा चेकपोस्ट पुनः सञ्चालन गरिएको हो । कार्यक्रममा मनास्लु संरक्षण क्षेत्र प्रमुख, सन्तोष शेरचन, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति र सहभागिता रहेको थियो ।
चेकपोस्ट कोभिड–१९ महामारीअघि सञ्चालनमा रहे पनि महामारीपश्चात बन्द अवस्थामा थियो। अब भने उक्त चेकपोस्ट पुनः सञ्चालनमा आएपछि सामागाउँ हुँदै मनास्लु पदमार्गमा प्रवेश गर्ने पर्यटक र वन पैदावर ओसारपसार गर्नेहरूका लागि व्यवस्थित र कानुनी प्रक्रिया सुरु गरिएको छ ।
संरक्षण क्षेत्रका प्रमुख सन्तोष शेरचनका अनुसार, यो चेकपोस्ट पुनः सञ्चालन गर्नुको उद्देश्य पर्यटकको तथ्यांक संकलन, सुरक्षा सुनिश्चितता, वन पैदावरको नियमन र सम्पूर्ण गतिविधिलाई व्यवस्थापन गर्र्न हो । यसबाट मनास्लु पदमार्ग अझ सुरक्षित र पारदर्शी बन्नेछ ।
चेकपोस्ट केवल प्रवेश र जानकारीका लागि मात्र नभई संरक्षण र स्थानीय स्तरमा जवाफदेहिता बढाउने संयन्त्रको रूपमा पनि काम गर्ने उनको भनाइ छ । पर्यटक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको प्रमुख शेरचनले जानकारी दिए । आफूहरुले चेकपोस्टमा आवश्यक जनशक्ति, अभिलेख व्यवस्थापन प्रणाली र सहजीकरण सेवा उपलब्ध गराएको बताउनु भयो । साथै, भविष्यमा अन्य रणनीतिक स्थानहरूमा पनि यस्ता संरचना विस्तार गर्ने योजना बनाइएको उनको भनाइ छ । मनास्लु पदमार्ग हुँदै आउने पर्यटकको व्यवस्थापन, स्रोतको संरक्षण र स्थानीय समुदायको सहभागिता मार्फत दिगो पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चेकपोस्ट सञ्चालन गरिएको मनास्लु संरक्षण क्षेत्रले जनाएको छ ।






