काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन शुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम शुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए ।

सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्र्ने बताए । “राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु”, उनले भने ।

सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताइन् ।

सांसद डा. अमरेशकुमार सिंहले उखु र दूध किसानको पैसा समयमा दिनुपर्ने र महँगी नियन्त्रणमा जोड दिनुपर्ने बताइन् । सांसदद्वय अमृतादेवी अग्रहरी र आश्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट जनतामुखी र कृषि क्षेत्र सुधार हुनेगरी ल्याउनुपर्ने बताए ।

उर्मिला थेबेले पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरालाई संयुक्त राष्ट्रसङ्घीय शेक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्नुपर्ने माग गरिन् । सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा तरकारीखेतीको राम्रो सम्भावना रहेकाले बृहत् सिँचाइ योजना बनाउन आग्रह गरेका छन् ।

सांसदहरू असिम शाह, एकनाथ ढकाल, कालुराम राई, गणेश पराजुली, गङ्गा कार्की, गङ्गाप्रसाद यादव, डा.चन्दा कार्की भण्डारी, छिरिङडम्डुल लामा, छिरिङल्हामु लामा तामाङ, जनार्दन शर्मा, ज्वालाकुमारी साह, जावेदाखातुन जागा, जुलीकुमारी महतो महासेठ र अब्दुल खानले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय