सुर्य खनाल-काठमाडौँ, किर्तिपुर – नेकपा (माओवादी केन्द्र) किर्तिपुर नगर कमिटीको आयोजनामा किर्तिपुर–०६, टौदहस्थित किपु दरबार ब्याङ्क्वेटमा जनतासँग माओवादी : उपत्यका जागरण अभियान को तयारीस्वरूप आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम किर्तिपुर नगर कमिटीका अध्यक्ष दिलबहादुर महर्जनको अध्यक्षतामा तथा सचिव दयालक्ष्मी महर्जनको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य दिलीप महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो भने जिल्ला इन्चार्ज हिमाल शर्माले शुभकामना मन्तव्यका साथ यही जेठ २० गतेदेखि सुरु हुन लागेको उपत्यका जागरण अभियानको उद्देश्य र कार्ययोजनाबारे जानकारी दिनुभयो।
उपचुनावका मेयर प्रत्यासी डा. शिवशरण महर्जनले मंसिरमा सम्पन्न उपनिर्वाचनमा प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राख्नुभएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्नुभयो। उहाँले नुवाकोटमा सम्पन्न कार्यक्रमपछि सिधै किर्तिपुर आइपुगेर कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो।
अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनमा पुराना कम्युनिस्ट नेताहरू र जनसमुदायको धैर्यता र सहभागिताले आफू उत्साहित भएको बताउँदै किर्तिपुर क्षेत्रप्रति सधैं ऋणी रहेको महसुस गर्नुभयो। साथै, पार्टीले विगतमा केही गल्तीहरू गरेको स्वीकार गर्दै आगामी दिनमा ती गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो।
उहाँले वर्तमान सरकारमा नेवा समुदायका नेताहरूलाई आवश्यक भूमिका दिन नसकेको स्वीकार गर्दै सुधारको आश्वासन दिनुभयो। त्यस्तै, किर्तिपुर उपचुनावमा पार्टीको पराजयप्रति निराश नभइ आगामी चुनौतीहरूको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।
अध्यक्ष प्रचण्डले हाल देशभर सञ्चालन भइरहेका विभिन्न जनअभियानहरूप्रति सन्तुष्टि व्यक्त गर्दै उपत्यका जागरण अभियान, मध्यपहाडी राजमार्ग केन्द्रित अभियान र अन्य कार्यक्रमहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, आगामी दिनमा विभिन्न दलहरूसँग एकता विस्तार हुँदै जाने र माओवादी केन्द्र बलियो शक्तिका रूपमा उभिनु कसैले रोक्न नसक्ने दाबी गर्नुभयो।
कार्यक्रमको अन्त्यमा किर्तिपुर नगर कमिटी र प्रदेश कमिटीमा निर्वाचित वाईसीएल (YCL) कमिटी तथा पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा ५०० भन्दा बढीको उल्लेखनीय उपस्थिति रहेको आयोजकहरूले जनाएका छन्।






