काठमाडौँ, जेठ १८ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अगावै रोकिएको विद्यार्थी भर्ना प्रक्रिया फेरि खोल्ने विषयलाई लिएर विवाद चुलिएको छ। विद्यार्थी संगठनहरूले भर्ना प्रक्रिया तुरुन्त अघि बढाउन माग गर्दै विश्वविद्यालय प्रशासनविरुद्ध आन्दोलन चर्काएका छन्।
विद्यार्थी संगठनहरूले उपकुलपति कार्यालय, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गर्दै दबाब सिर्जना गरेका छन्। आन्दोलनकै क्रममा जेठ १४ गते उपकुलपति प्रा. डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड समेत गरिएको थियो। पाटन र पद्मकन्या क्याम्पसका स्ववियु अध्यक्षहरूले घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै, तोडफोडको बेला निर्णयको प्रतीक्षामा मात्र रहेको दाबी गरेका छन्।
पाटन क्याम्पस स्ववियु अध्यक्ष रोहित कपालीका अनुसार निजी कलेजहरूले विद्यार्थी भर्ना गरिरहे पनि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त सरकारी क्याम्पसहरूमा भर्ना प्रक्रिया रोकिएको छ। यो अवस्थाले विद्यार्थीहरू अन्योलमा परेका छन्। “हरेक दिन विद्यार्थीहरू भर्ना कहिले खुल्छ भनी सोधिरहेका छन्, तर कुनै जवाफ छैन,” कपालीले गुनासो गरे।
स्ववियु अध्यक्ष दिपकराज जोशीले निजी कलेजहरूले धमाधम भर्ना गरिरहेकै बेला विश्वविद्यालयले सरकारी क्याम्पसहरूमा भर्ना रोक्नु अन्यायपूर्ण भएको बताए। “क्यालेन्डरको नाममा सरकारी क्याम्पसमा रोक, तर निजी क्याम्पसमा छुट? यो त दोहोरो मापदण्ड हो,” जोशीले भने।
त्रिवि प्रवक्ता एमनसिंह बोहराले निर्वाचन अगावै भर्ना हुन नपाएका विद्यार्थीहरूको मागलाई सम्बोधन गर्दै पदाधिकारीहरूले आवश्यक छलफल गरिरहेको बताए। उनका अनुसार वार्षिक शैक्षिक क्यालेन्डर अनुसार नै भर्ना र पठनपाठन अघि बढाउने प्रक्रिया रहेको छ।
उपकुलपतिको कार्यकक्षमा गरिएको तोडफोडलाई लिएर त्रिविले संलग्नहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीका अनुसार भौतिक आक्रमण र सम्पत्तिमा क्षति पु-याउनेहरूलाई कानुन अनुसार कारबाही गरिनेछ।
स्ववियु निर्वाचनको कारण रोकेको भर्ना प्रक्रिया पुनः सुरु गर्ने विषयमा त्रिविको ढिलासुस्तीले विद्यार्थी संगठनहरू आक्रोशित छन्। सरकारी कलेजहरूमा भर्ना रोकिए पनि निजीमा जारी रहँदा शैक्षिक समानतामाथि प्रश्न उठेको छ। यता त्रिवि प्रशासन भने क्यालेन्डर र प्रक्रियागत बहानामा ढाकछोप गरिरहेको भन्दै विद्यार्थीहरूको असन्तुष्टि बढ्दो छ।






