गोरखा, भदौ १३। हाल दोहा, कतारमा बस्दै आएका गोरखा भिमसेनथापा–३ निवासी नवराज सिंखडाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई लक्षित गर्दै एक खुला चिठी लेखेका छन्। चिठीमार्फत उनले हालसालै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध शर्माले व्यक्त गरेका टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्।

सिंखडाले लेखेको चिठीमा भनिएको छ :

“आजकल तपाईं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव नभई आफ्नै घर जलाएर खरानीको व्यापार गर्न खोज्ने व्यापारीझैं देखिन थाल्नुभएको छ। शत्रु पार्टी बाहिर मात्र नभएर भित्र पनि हुन्छन् भन्ने कुरा पुष्टि गर्दै अध्यक्ष प्रचण्डमाथि बेमौसमी प्रहार गर्दै हिँड्नुभएको छ। अध्यक्षमाथि हानिएको प्रत्येक वाण अन्ततः तपाईंको छातीमै फर्केर विस्फोट हुन्छ भन्ने कुरा हेक्का राख्नुस।”

उनले पार्टीभित्र कमजोरी भए छलफल र बैठकमार्फत समाधान खोज्नुपर्ने सुझाव दिँदै, दुनियाको सामुन्ने पार्टी र अध्यक्षलाई बदनाम गरेर लोकप्रिय बन्न खोज्नु गैरजिम्मेवार प्रवृत्ति भएको टिप्पणी गरेका छन्।

सिंखडाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्मरण गर्दै थप लेखेका छन् :
“इतिहासले देखाइसकेको छ—ओलीको अहंकार र स्वेच्छाचारिताले पार्टी फुटेको हो। तर तपाईं आज प्रचण्डलाई दोषारोप गर्दै हुनुहुन्छ। सत्यलाई तोडमोड गरेर लोकप्रियता कमाउने प्रवृत्ति जनताले कहिल्यै स्वीकार्दैन।”

चिठीमा उनले जनार्दन शर्माको पछिल्लो राजनीतिक धारणा ‘अवसरवादी’ भएको आरोप लगाएका छन्।
“शान्ति प्रक्रियादेखि मन्त्री बन्ने अवसर उपभोग गर्दा पार्टी र प्रचण्ड सहि, तर आज अचानक गलत भन्नु भन्दा ठूलो अवसरवाद के हुन्छ? प्रत्येक निर्णयमा तपाईंको हस्ताक्षर, समर्थन र सहभागिता रहेको छ। त्यसैले पार्टी बिग्रनु वा भत्कनुमा तपाईंको पनि बराबरी जिम्मेवारी हुन्छ,” चिठीमा भनिएको छ।

अन्त्यमा उनले प्रचण्डमाथिको प्रहार अन्ततः माओवादी केन्द्रलाई कमजोर पार्ने र त्यसबाट पार्टी मात्र नभई जनताले पनि हानि व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
“आजको प्रहारले केही विरोधीहरूलाई खुशी पार्ला तर त्यो न तपाईंको हितमा हुनेछ न पार्टीको। त्यसैले आबेग होइन, विवेकले अघि बढौं र हजारौं शहिदको बलिदानीले निर्माण भएको पार्टीलाई जोगाऔं,” सिंखडाले लेखेका छन्।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय