काठमाडौं । २०८२ भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा भएका हिंसात्मक घटना, आगजनी र लूटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पूर्व विद्यार्थी नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा आन्दोलनका क्रममा मारिएका युवाविद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ।

पूर्व विद्यार्थी नेताहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुका साथै गोली प्रहारमा संलग्न व्यक्ति, राष्ट्रको सम्पत्ति जलाउने, लूटपाट र जनधनको क्षति पुर्‍याउने सबैलाई कारबाही गर्न शक्तिशाली स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी गैरकानूनी सम्पत्ति जफत गर्ने र भ्रष्टाचारमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ।

वक्तव्यमा संसदलाई जनसार्वभौमसत्ताको थलो बताउँदै संसद विघटनको मागलाई दृढतापूर्वक अस्वीकार गरिएको छ। पूर्व विद्यार्थी नेताहरूका अनुसार जनताका वास्तविक माग—भ्रष्टाचार अन्त्य, सुशासन र राजनीतिक निकास—संसदभित्रै समाधान हुन सक्छन्। त्यसैका लागि नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउन आवश्यक भएको उल्लेख गरिएको छ।

भदौ २४ गतेको घटनाको आवरणमा संसद विघटन, राष्ट्रपतिले राजीनामा दिनुपर्ने, राजतन्त्र फर्काउनेजस्ता मागहरू प्रतिगामी भएको भन्दै वक्तव्यमा सबै अग्रगामी शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ। विद्यार्थी र युवाले उठाएका मुद्दा संविधान र आवश्यक संशोधन तथा संसदीय प्रक्रियाबाटै समाधान गर्न सकिनेमा आफूहरू विश्वस्त रहेको नेताहरूको भनाइ छ।

यस्तै, देशलाई अगाडि बढाउन आन्दोलनरत विद्यार्थी र जनताको मागलाई सम्बोधन, संविधान संशोधन र राजनीतिक निकासका लागि व्यापक संवाद आवश्यक भएको वक्तव्यमा उल्लेख छ। प्रतिगामी मागहरूको विरुद्ध सडक संघर्ष गर्न समेत नेताहरूले तयारी व्यक्त गरेका छन्।

देशभर व्यापक आगजनी र लूटपाट भइरहेका बेला सार्वजनिक र निजी सम्पत्तिको सुरक्षा गर्न, जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन र थप हिंसात्मक अवस्था सिर्जना हुन नदिन सरकार र सरोकारवालालाई गम्भीर ध्यान दिन आह्वान गरिएको छ।

उक्त संयुक्त वक्तव्य पूर्व विद्यार्थी नेताहरू नैनसिंह महर, राजीव ढुंगाना, माधव ढुंगेल, नवीना लामा, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, पञ्चा सिंह, सुदेश पराजुली, आरती लामा, अनिलकिशोर घिमिरे, विमल पोखरेल र रुपनारायण श्रेष्ठले भदौ २६ गते जारी गरेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय