काठमाडौँ । चर्चित हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण भएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ ।
धुर्मुस सुन्तली मिडीयाले निर्माण गरेको सिरियल हरेक साता शुक्रबार नेपाली समयअनुसार साँझ ८.१५ बजे प्रसारण हुनेछ । अमेरिकामा भने शुक्रबार विहान १०.३० बजे प्रसारण हुने यो शृङ्खला धुर्मुस सुन्तली युटुव च्यानलबाट प्रसारण हुनेछ । ‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो।
सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन् । उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदै छन् । ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन् ।
सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन् ।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन छ। सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ ।
यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभव र कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ।






