काठमाडौं । हाम्रो एकता खेलकुद क्लबको आयोजनामा सम्पन्न ‘एकता यु–१६ फुटबल प्रतियोगिता २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ २९ गतेदेखि असार १ गतेसम्म नयाँ बजारस्थित रिभर फिल्ड फुटसलमा सञ्चालन भएको थियो।
प्रतियोगितामा काठमाडौंका १२ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताको प्रमुख आतिथ्य तथा राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक अनिल गुरुङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतियोगितामा पिस पोइन्ट स्कुल, मिड बानेश्वर प्रथम हुँदै च्याम्पियन बन्न सफल भयो भने एलआरआई स्कुल, कलङ्की उपविजेतामा सीमित रह्यो। एलआरआई स्कुलका आशुतोष महतरा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षकलाई पनि विशेष सम्मान गरिएको थियो।
विजेता टोलीलाई रु. ८५,५५५, ट्रफी (शील्ड), मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी उपविजेता टोलीलाई रु. ३५,५५५, ट्रफी (शील्ड), मेडल तथा प्रमाणपत्र प्रदान गरियो। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि शील्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यालय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने, विद्यार्थीलाई शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सहभागी विद्यालय, खेलाडी, अभिभावक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।






