काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई समितिका आन्तरिक छलफल, दस्ताबेज र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै बुर्लाकोटीले समितिका दस्ताबेजको अध्ययन, कानुनी विश्लेषण तथा निर्णय प्रक्रियाअघिका आन्तरिक विषय सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन् ।

समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि निर्णय प्रक्रियामा पुग्नुअघिका कतिपय प्राविधिक तथा आन्तरिक विषय बाहिर लैजाँदा संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

समितिका सदस्यले दस्ताबेज अध्ययन गरे वा नगरेको विषय स्वयं सदस्यको जिम्मेवारी भएको भन्दै उनले यस्ता विवरण सभापतिमार्फत सार्वजनिक गर्न आवश्यक नरहेको तर्क गरे ।

बैठकमा समितिमा प्राप्त हुने उजुरीका विषयमा समेत बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने अधिकार सुनुवाई समितिसँग नरहेको स्पष्ट पारे ।

सूचनाको हक प्रयोग गर्ने तथा उजुरी दिने प्रवृत्तिलाई नजरअन्दाज गर्न नमिल्ने भए पनि समितिको क्षेत्राधिकारभन्दा बाहिरका उजुरीलाई सम्बन्धित निकायमा पठाउनुपर्ने उनले बताए ।

‘समितिले गर्ने अध्ययन, परीक्षण र कानुनी विश्लेषणका आधारमा अन्तिम निष्कर्ष निकाल्नुपर्छ। यस्ता कतिपय विषयमा कानुनी पक्षसमेत जोडिने भएकाले हामी संवेदनशील हुनुपर्छ,’ उनले भने ।

बुर्लाकोटीले समितिमा प्राप्त उजुरीको प्रकृति हेरेर गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा आवश्यक छानबिन तथा कार्यान्वयनका लागि पठाउनु उपयुक्त हुने बताए।

‘आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा हामी न कुनै निष्कर्षमा पुग्न सक्छौँ, न त ठोस निर्देशन नै दिन सक्छौँ,’ उनले भने, ‘त्यसैले यस्ता विषयलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ ।’

उनले समितिको समय र गरिमाको रक्षा गर्दै क्षेत्राधिकारभित्र रहेर मात्रै कार्यसम्पादन गर्न समितिको ध्यानाकर्षण गराए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय