काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।
संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको विरोधमा देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन पुर्याएका हुन् । रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च पुगिसकेका हुन् । नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए । निवेदनमा नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ । संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको आरोप देउवा र नेता डा। शेखर कोइराला समूहले लगाउँदै आएको छ । सर्वोच्च अदालतले केही समयअघि नेपाली कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको आदेश दिएको थियो । उक्त आदेशपछि पार्टीको संस्थापन पक्षले अन्य समूहहरूसँग पर्याप्त संवाद र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । यसअघि आजै बिहान देउवा र नेता डा.शेखर कोइरालाबिच चुनदेवीमा भेटवार्ता भएको थियो ।






