काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जमानत बसिदिएका डा. मनोहर प्रधानले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले प्रधानलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रुपैयाँ जमानत दिएका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडीजीपी(डक्टर अफ मेडिसिन इन जेनरल प्राक्टिस एन्ड एमर्जेन्सी मेडिसिन) पूरा गरेका छन्। हाल उनी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। चितवनवासी प्रधान पेसाले चिकित्सक हुन् । रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहेका उनी लामिछानेलाई चितवनबाट निर्वाचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आदिवासी जनजाति क्लस्टरमा लोकप्रिय मत ल्याएकालाई पन्छाएर प्रधानलाई ल्याइएकोमा निकै विरोध भएको थियो । लामिछानेलाई अप्ठ्यारामा सहयोग पुर्याएकै कारण प्रधानले जिम्मेवारी पाएको हुनसक्ने एक नेताले आरोप लगाए । ‘रविजी सहकारी ठगी मुद्दामा जेल पर्दा उहाँ(मनोहर प्रधान)ले जमानत बस्नु भएको थियो । पर्सा जिल्ला अदालतमा बाहेक सबै ठाउँमा उहाँ जमानत बस्नुभएको छ जस्तो लाग्छ । चितवनबाट जिताउनदेखि रविका हरेक सङ्कटमा सहयोग गर्नुभएको छ। त्यसैको गुन तिर्नुभयो होला’, रातोपाटीसँग ती नेताले भने । रास्वपाको १८ जना पदाधिकारीमध्ये चितवनबाट मात्रै चार जना पदाधिकारी बन्न सफल भएका छन् । चितवनमा असार ७ देखि १२ सम्म भएको प्रथम महाधिवेशनमा सभापति लामिछाने, उपसभापति सोविता गौतम, सहमहामन्त्री हरि ढकाल निर्वाचित भएका थिए।






