काठमाडौं । रास्वपाले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाउँदा मधेस क्लष्टरमा पुरुषतर्फ पहिलो सूचीमा थिए- डा. नन्दन यादव ।
सोही क्लष्टरमा दोस्रोमा खगेन्द्र कर्ण थिए भने पुरुषोत्तम यादवको नाम तेस्रो स्थानमा थियो । समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगबाट बाहिर ल्याउँदा मधेसी क्लष्टरमा पुरुष तर्फका नामहरूको सूची तलमाथि गरिएको थियो ।
एक नम्बरमा रहेका डा. नन्दन यादव तेस्रो स्थानमा पुगे । मधेसी पुरुष क्लष्टरमा तेस्रो स्थानमा रहेका पुरुषोत्तम पहिलो नम्बरको सूचीमा पुगे ।
सूचीमा रहेका नामहरू तलमाथि गर्दा दोस्रो स्थानमा रहेका कर्ण पनि सोही स्थानमा रहे । तेस्रो स्थानमा भएको व्यक्ति समानुपातिक उम्मेदवार हुन नसक्ने विश्लेषणसहित पुरुषोत्तमलाई पहिलो स्थानमा पुर्याइएको थियो ।पुरुषोत्तमलाई पहिलो स्थानमा ल्याउनका लागि तत्कालीन समयमा भएका आन्तरिक छलफलबारे रास्वपाका एक नेता भन्छन्, ‘पहिलो नम्बरमा नराखिए सांसद हुन नसक्ने पुरुषोत्तमलाई डर थियो । पहिलो नम्बरमा राख्न बल लगाए । सभापतिले पुरुषोत्तमलाई ल्याउन सहजै स्विकार्नुभयो ।’






