काठमाडौं । बाराको सिमराकी ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो बयान लिक गर्ने प्रहरी हवल्दारविरुद्ध फौजदारी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
हवल्दार कुमार विकविरुद्ध प्रहरीले वैयक्तिक गोपनिताको हकसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरमा अनुसन्धान थालेको हो ।सोमबार पक्राउ परेका हवल्दार विकमाथि दुई वटा कसुरमा अनुसन्धान भइरहेको बाराका एसपी नरेन्द्र कुँवरले बताए ।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे सिलसिलेबार दिएको भिडियो बयान बाहिरिएपछि प्रहरीले त्यसबारे फौजदारी अनुसन्धान अघि बढाएको हो ।आरोपीलाई मेडिकल परीक्षण गर्न लैजाँदा यौनजन्य घटनाका पीडित र पीडकहरूको स्वास्थ्य परीक्षण गर्ने ठाउँमा खिचिएको भिडियो हवल्दारले ‘कन्टेन्ट क्रियटर’लाई पठाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मेडिकल जाँच गर्न आरोपीलाई लैजाँदा हवल्दार सुरक्षा टिममा खटिएका थिए । हवल्दारको मोबाइलबाट सो भिडियो लिक भएको र त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएको भेटिएको छ । कन्टेन्ट क्रियटरले कुन मनसायले सो सामग्री प्रसारण गरेका थिए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एसपी कुँवर भन्छन्, ‘भिडियो लिक गर्ने काममा संलग्न अरूमाथि पनि अनुसन्धान हुँदै छ ।’
सामाजिक सञ्जालमार्फत छताछुल्ल भिडियोमा किशोरले हाँस्दै घटनाबारे बताउँदा साथमा दुई जना प्रहरी देखिन्छन् । त्यहाँ अर्का दुई जनाले मोबाइलबाट भिडियो खिचिरहेको देखिएको छ ।






