काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले तिहारको घरेलु बक्स अफिसमा कस्तो कमाइ गरिरहेको छ भन्ने थाहा पाउन शोको गणित हेरे मात्र पुग्छ । विहिबार देशब्यापी ५६ शोबाट रिलिज भएको यो फिल्मले आइतबार १६८ शो पाएको छ ।
विजय बराल स्टारर फिल्मको ‘सिनर्जी इफेक्ट’ले कति लामो समयसम्म काम गर्छ थाहा पाउन मंगलबारसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । सोमबारसम्म तिहारको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ सुखद हुनेमा शंका छैन ।
विहिबार छठ पर्व र २४ गते शनिबारको सार्वजनिक बिदा भएकाले पनि दोस्रो सप्ताहन्त यो फिल्मका लागि सुखद हुने अनुमान गर्न सकिन्छ । फिल्मले सकारात्मक समीक्षासहित राम्रो कमाइ गरिरहेको कार्यकारी निर्माता रमेश ढकालले बताए ।
सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले शोको संख्या वृद्धि गराउँदै अघि बढेको देखिन्छ । प्राप्त शोमध्ये सबैको अकुपेन्सी ७० देखि १०० प्रतिशतसम्म देखिन्छ । काठमाडौं, पोखरा, चितवन, बुटवल र पूर्वका केही हलमा फिल्मको अकुपेन्सी अन्यत्रभन्दा उच्च छ ।
शुक्रबार ५६ शोसहित रिलिज भएको फिल्मको ओपनिङ अपेक्षाकृत हुन सकेन । क्रमशः समीक्षा राम्रो आउन थालेपछि शुक्रबार र शनिबार यसले अकुपेन्सी बढाउँदै लग्यो । प्रदर्शनरत विदेशी फिल्मको शो संख्यामा केही गिरावट आउनु यस फिल्मका लागि सुखद अवश्य हो ।
अब ‘पूर्णबहादुरको सारंगी’सामु मुख्यतः दुई चुनौति छन् । पहिलो- प्राप्त शोलाई अकुपेन्सीमा रुपान्तरण गर्नु । दोस्रो- विकडेज (मंगलबारदेखि)को यात्रा तय गर्नु ।
वितरक मनोज राठीले मंगलबार फिल्मको आधिकारिक कमाइ सार्वजनिक गर्ने बताए । ‘फिल्मले उत्साहजनक कमाइ गरिरहेको छ । काठमाडौं र बाहिर पनि राम्रो छ’ राठीले भने, ‘मंगलबार एकैपटक कलेक्सन सार्वजनिक गर्ने तयारी छ ।’
दशैंका फिल्मको कमाइ तिहारसम्मै
दशैंको फूलपातिमा रिलिज भएको ‘छक्कापञ्जा ५’ले तिहारसम्मै राम्रो कमाइ गरेको देखिएको छ । प्राप्त शो पनि चौंथो सातामा हाउसफूल हुनु दीपकराज गिरी स्टारर फिल्मको लागि सुखद अवश्य हो ।
फिल्मले १७ दिनसम्म १८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक भैसकेको छ । त्यसयता वितरकले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।
फूलपातिमै रिलिज भएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले १७ दिनसम्म १४ देखि १५ करोड रुपैयाँसम्म ग्रस कमाइ गरेको अनुमान गरिएको छ । तिहारसम्म समीर भट्ट स्टारर फिल्मले १५ देखि १६ करोड हाराहारीमा कमाइ गर्ने प्रक्षेपण छ । यसबारे आधिकारिक विवरण आउन बाँकी छ ।