काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?,’ साम्पाङले प्रश्न गरे, ‘गाडी बिग्रेकोको कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’
स्वीस बैंकमा भ्रष्ट नेताहरूले राखेको पैसा धेरै नै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नै भनेको पनि स्मरण गरे ।
‘स्वीस बैंकमा रहेको पैसा पनि फिर्ता गर्न सक्दैनौं हामी । विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ । उनीहरूको शव पनि नेपाल ल्याउन सक्दैनौं । यस्तोसम्म लाचार भएर बाँच्नुपरेको छ’, उनले भने ।
उनले कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्नेगरेको टिप्पणी गरे ।
‘नाबालिकाहरूको बलात्कार र हत्या हुने गरेको छ । बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ,’ साम्पाङले भने । उनले कानुनसँग डर हुनुपर्ने बताए ।






