काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो।
सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको छ।त्यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले पारित गरेको छ।महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले स्वीकृत गरेको छ।चार वटै विधेयकहरू अब सम्बन्धित संसदीय समितिमा जानेछन्, जहाँ सांसदहरूले हालेका संशोधनहरूमाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार पारिनेछ।विधेयकहरूलाई समितिमा पठाउने कार्यसूची सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन्। यसअघि सोमबारको बैठकको सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिएका थिए।






