काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टर, एक जनाको वीरेन्द्र सैनिक अस्पताल र बाँकीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा चार जना
राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका-५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्।

यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवाको गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शिक्षण अस्पतालमा उपचाररत
त्रिवि शिक्षण अस्पतालमा नुवाकोटको विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवाको गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, कुशल मगर, कार्की थरका एक पुरुष र नामथर बताउन नसक्ने अर्का एक पुरुष उपचाररत छन्। कुशल मगर र कार्की थरका पुरुषको ठेगाना खुलेको छैन।

त्यसैगरी सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, बाह्रबिसे नगरपालिका-५ का रूपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा सल्यानका गिरीलाल बुढाथोकी र जाजरकोटका बलबहादुर घर्ती मगरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गोसाइँकुण्ड-७ टिमुरेका कामु नगरकोटी तीन महिनाको शिशुसहित शिक्षण अस्पतालमा छन्।

यस्तै, टिमुरेका प्रेमदोर्जे घले र नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दियाको जीतपुरका रामप्रसाद थारू, रसुवाको बेत्रावती-५ का सुराची राना मगर तथा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

भोटेकोशीको बाढीमा घाइते भएका २५ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय