काठमाडौं । आज भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेँसी तथा नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रमा जनधनको ठूलो क्षतिबारे काठमाडौं महानगर विपद् व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनको भूमिकामा तयार रहेको बताएको छ ।
बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ । २ वटा एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई परिचालन गर्ने र घाइते बिरामीका लागि आवश्ययकता अनुसार औषधि उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।
महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकता अनुसार प्रदान गरिने छ । सामान तथा औषधि अपुग हुने देखिए विपद् व्यवस्थापन कोषबाट खरिद गरेर उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।






