काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ७२ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन्। घाइतेको बाढी प्रभावित क्षेत्रका जिल्ला अस्पताल र काठमाडौंका विभिन्न सरकारी एवं निजी अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए। उनले उपचार व्यवस्थाका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूलाई आवश्यक निर्देशन दिइएको जानकारी दिए। बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूलाई नेपाली सेना र निजी क्षेत्रका विभिन्न हवाई सेवा कम्पनीहरूले उद्धार गरी अस्पताल ल्याएका छन्। सिम्रिक एयर, कैलाश हेलिकप्टर, अन्नपूर्ण हेली, प्रभु हेलिकप्टर, फिस्टेल र एभरेस्टले घाइतेहरूको उद्धार गरेका छन्।
हेलिकप्टरबाट उद्धार गरिएका घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार गरी ल्याइएका ३० जना घाइतेको सरकारी एवं निजी अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेहरूको टाउको, खुट्टा, हातलगायतका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।
घाइतेहरूमध्ये १६ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। शरीरभरि चोट लागेका कारण कतिपय घाइते बोल्न नसक्ने अवस्थामा छन्। उपचाररत घाइतेमध्ये ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। घाइतेहरू अधिकांश रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, जाजरकोट, सल्यान, बर्दियालगायतका जिल्लाका छन्।
उपचाररत घाइतेमध्ये तेजबहादुर तामाङ ४५ वर्षीय, पेमा तामाङ ४८ वर्षीया, कुशल मगर २१ वर्षीय, ए. कार्की ४० वर्षीय, राजेन्द्र भट्ट २७ वर्षीय, मीनबहादुर श्रेष्ठ ३२ वर्षीय र गिरिलाल बुढाथोकी ३८ वर्षीयको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, घाइतेहरू सुजन बस्नेत ३५ वर्षीय, रूपक रोका २३ वर्षीय, सुशान्त श्रेष्ठ २३ वर्षीय, बलबहादुर घर्ती ३५ वर्षीय, अशोक श्रेष्ठ ३० वर्षीय, कर्म नगरकोटी २७ वर्षीय, सुन्दरी रानामगर २२ वर्षीया, रीता डोल्चा २० वर्षीया र रामप्रसाद थारू ३५ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना घाइतेको उपचार भइरहेको छ। नुवाकोट विदुरका भक्तबहादुर भण्डारी ४२ वर्षीय, सीता भण्डारी ४१ वर्षीया, विवेक कुमाल २४ वर्षीय, रिहाना लामिछाने १३ वर्षीया, दोलखाका काजु तामाङ ३३ वर्षीय, गोसाइँकुण्डका नन्दलाल घर्ती ४६ वर्षीय र बर्दियाका नन्दलाल घर्ती ४६ वर्षीयको उपचार भइरहेको छ।
त्यस्तै, वीर अस्पतालमा तीन जनाको उपचार भइरहेको छ। रसुवाका छिरिङ छुमु घले ४० वर्षीया, बालक डोना तामाङ ३ वर्षीय र बालिका पाल्दुङ तामाङ ३ वर्षीयाको वीर अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
त्यस्तै, वीरेन्द्र सैनिक अस्पतालमा रसुवाकी दावा डोल्मा १४ वर्षीयाको उपचार भइरहेको छ। नुवाकोट, विदुरका ध्रुव ढुंगाना ३४ वर्षीयको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते ढुंगानाको बायाँ आँखामुनि र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी बोल्न सक्ने र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, रसुवा अस्पतालमा २१ जना र नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। जसमध्ये २ जना सिकिस्त छन्।






