काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र सरकारी संयन्त्रबिच समन्वयको अभाव देखिएको बताएका छन् । महासचिव पोखरेल बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए ।
विपदग्रस्त क्षेत्रको अनुभूति शुक्रबार सामाजिक सञ्जालमा सेयर गर्दै महासचिव पोखरेलले तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको पनि बताएका छन् ।
‘सरकारले उद्धारको काम गरिरहेको छ । नुवाकोटलाई बेसक्याम्प बनाएर सेनाको नेतृत्वमा हवाई उद्धारको काम भइरहेको छ, यो सकारात्मक छ । तर, जमिनको यथार्थ स्थिति र सरकारी संयन्त्रबिच ठुलो खाडल देखिएको छ’, महासचिव पोखरेलले भनेका छन् ।
उनले सुरक्षा निकायहरूबिच आपसी समन्वय र सहकार्य नदेखिएको, गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत र उद्धारको प्रभावकारी कमान्ड सम्हाल्न नसकेको देखिएको बताएका छन् ।
‘नेपाली सेनासँग स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको सहज पहुँच स्थापित हुन सकेको देखिँदैन’, पोखरेलले भनेका छन्, ‘त्रिशूली पारिको क्षेत्रमा पुग्ने लाइफलाइन पूर्णतः विच्छेद भएको छ र अहिलेसम्म जोड्न सकिएको छैन । जसका कारण ती क्षेत्रहरूमा स्वयंसेवक र राहत सामग्री पुग्न सकेका छैनन् ।’ पोखरेलले विस्थापितहरूको सङ्ख्या ठुलो भएका कारण तत्काल सबैतिर हवाई उद्धार हुने स्थिति पनि नदेखिएको भन्दै त्यसमाथि, हेलिकप्टरको सीमितता र मौसमको प्रतिकूलताले समस्या थप गम्भीर बनाएको बताएका छन् ।
महासचिव पोखरेलले सरकारलाई तत्काल पाँच वैकल्पिक उपाय अवलम्बन गरेर उद्धार, राहत र पुनर्स्थापना अघि बढाउन सुझाव दिँदै तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर एकीकृत ’कमान्ड पोस्ट’ तुरुन्त निर्माण गर्नुपर्ने बताएका छन् ।







