काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिएका हुन् ।
प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्याएको बताइएको छ ।
उनले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारे ।
चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा हालसम्म कुल २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । यद्यपि, भौगोलिक विकटता र प्रतिकूल अवस्थाका कारण यकिन विवरण प्राप्त हुन बाँकी रहेको र प्रमाणीकरणको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
चिनियाँ उद्धारकर्ताहरूका लागि सबैको जीवन महत्वपूर्ण रहेको बताउँदै लिनले सम्बन्धित देशका दूतावासहरूलाई समेत पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको उल्लेख गरे ।
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कता सम्बन्धी सूचना जारी गरेको छ । दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र थप प्राकृतिक जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै, समस्यामा परेका नागरिकहरूलाई दूतावासमा सम्पर्क गर्न समेत सूचित गरिएको छ ।






