गोरखा नगरपालिका वडा नम्वर ५ मा उपनिर्वाचनको सरगर्मी छाइसकेको छ । वडाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुको दौडधुप जारी छ । आन्तरिक छलफल र भेटघाटमा उनीहरु व्यस्त देखिन्छन् ।
उक्त निर्वाचनमा बिशेषत प्रमुख तीन दल (कांग्रेस, एमाले र माओवादी) बीच प्रतिस्पर्धा हुने देखिन्छ । दलहरुले उमेदवारको टुंगो लगाइसकेका छन् ।
कांग्रेसको तर्फबाट भाइकाजी आले उम्मेदवार बन्ने पक्का भइसक्यो । माओवादीको तर्फबाट बिष्णु राना उम्मेदवार बन्ने भएका छन् भने एमालले दुर्गामाया रानालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर मनोनयनको समयसम्म उम्मेदवारमा हेरफेर हुन सक्ने संकेत पनि देखिएको छ । चुनावी गठवन्धनका लागि एमाले केही लचक देखिएको छ । माओवादी र कांग्रेससँग छलफलका लागि आफूहरु तयार रहेको एमाले पार्टी स्रोतले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बनेका थिए । २६ मतले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो । अवको उपनिर्वाचनमा कसले बाजी मार्ला भनेर सहजै अनुमान गर्न कठिन छ । तीन दलबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तीनै दलहरु आफू जित्नेमा ढुक्क छन् ।
सांगठनिक रुपमा बलियो भएका कारण पनि आफूहरुको जित पक्का भएको कांग्रेस बताउँछ । ‘यसअघि पनि हामीले जित्ने वडा हो, तर हाम्रै पार्टीकै केही आन्तरिक त्रुटीले गर्दा झिनो मतले हार्नुप¥यो,’ पार्टी जिल्ला सचिव किशोरजंग थापाले भने, ‘अहिले सबै सुधार भइसक्यो, हाम्रो जित पक्का छ ।’ स्थानीय स्तरबाटै सर्वसम्मत रुपमा उम्मेदवार छनोट भएको र बिभिन्न संघसंस्थामा आवद्ध रही सामाजिक कार्यमा समेत संक्रिय रहेकाले थापाको जित्ने आधार बलियो रहेको उनको भनाइ छ ।
एमालेले पनि आफ्नो उम्मेदवारको जित पक्का हुने दावी गर्दै आएको छ । यसअघिका अध्यक्ष स्व. खिलबहादुर रानाको सपना पूरा गर्न वडावासीले एमालेलाई नै निर्वाचित गर्नुको बिकल्प नरहेको पार्टी जिल्ला सचिव काजिराम रोका बताउँछन् । ‘वडाको बिकास र समृद्धिका लागि रानाले निर्वाह गर्नु भएको भूमिका र उहाँको अधुरो कामलाई पूरा गर्न पनि एमालेको अपेक्षा गरेको बुझिन्छ, त्यसैले हाम्रो जित पक्का छ,’ उनले भने । एमालेले छनोट गरेको उम्मेदवार यसअघिका वडाध्यक्ष स्व. रानाकी धर्मपत्नी हुन् । त्यही आधारमा पनि दुर्गामायालाई सहानुभूतीको मत आउन सक्ने अनुमान गर्न सकिन्छ ।
माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार कमजोर नरहेको बताउँदै आएको छ । ‘हाम्रो जितको आधार धेरै छन्,’ पार्टीका बैकल्पिक केन्द्रिय सदस्य लेखबहादुर थापाले भने, ‘हामीले छनोट गरेको उम्मेदवार बिभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ र बौद्धिक व्यक्तित्वको रुपमा पनि परिचित भएकाले पनि जित सहज छ ।’ अन्य दुई दलका उम्मेदवार पनि कमजोर नभएको बताउँदै उनले झिनो मतान्तरले भएपनि आफूहरु बिजयी हुने जिकिर गरे ।
यसअघिका वडाध्यक्ष रानाको २०७९ साल कात्तिक १० गते भाइटिककाको दिन असामयिक निधन भएको थियो । त्यसयता रिक्त रहेको वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आवश्यक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ । मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । उम्मेदवारको नाम फिर्ताका लागि मंसिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको उनले जानकारी दिए ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र १६ गते निर्वाचन हुने बताइएको छ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्ला न्यायाधिश शिवबहादुर रानाभाटलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ । सम्बन्धित वडा कार्यालयमै अधिकृतको कार्यालय स्थापना हुने कोइरालाले बताए ।
जनशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । जनशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । उक्त वडामा करिव दुई हजार मतदाता रहेको कार्यालयको अनुमान छ । तर अन्तिम मतदाता नामावली भने प्रकाशन भएको छैन । कात्तिक २७ भित्र निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन हुने बताइएको छ ।